काठमाडौं । जर्मन अटो निर्माता कम्पनी अडीले चालु आर्थिक वर्षको लागि राजस्वको पूर्वानुमान कायम राखेको छ । कम्पनीले पहिलो त्रैमासिकमा विद्युतीय सवारीसाधनको बिक्रीमा उल्लेख्य वृद्धि हुँदै १२.४ प्रतिशत राजस्व वृद्धि गरे पनि अमेरिकी आयात शुल्कको सम्भावित असरलाई भने पूर्वानुमानमा समावेश नगरेको जनाएको छ ।
जनवरीदेखि मार्च महिनासम्म अडीको राजस्व १५.४३ अर्ब युरो (झण्डै १७.४९ अर्ब अमेरिकी डलर) पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १३.७३ अर्ब युरोभन्दा धेरै हो ।
कम्पनीले २०२५ मा वार्षिक राजस्व ६७.५ अर्बदेखि ७२.५ अर्ब युरोको बीचमा रहने अपेक्षा गरेको छ र सञ्चालन नाफा ७ देखि ९ प्रतिशतको दायरामा रहने जनाएको छ ।
अडीले स्पष्ट पारेको छ कि अमेरिकी आयात शुल्कहरूको प्रभाव अझै पूर्ण रूपमा मूल्याङ्कन गर्न बाँकी छ । साथै मार्चमा अडीको व्यवस्थापन र कामदार युनियनबीच भएको सहमतिका प्रभावहरू पनि वर्तमान पूर्वानुमानमा समावेश छैनन् ।
अमेरिकामा उत्पादनको तयारी
अडीसँग हाल अमेरिकाभित्र कुनै उत्पादन केन्द्र छैन । तर कम्पनीले यसै वर्ष अमेरिकी उत्पादन क्षमताको सम्भाव्यता मूल्याङ्कन गरी निर्णय लिने जनाएको छ । सीईओ जुर्गेन रिटर्सबर्गरका अनुसार उक्त उत्पादन विद्युतीय सवारीसाधनसमेत समेटिन सक्नेछ । 'हामी विद्युतीय सवारीमाथि विशेष ध्यान दिइरहेका छौं, अमेरिका पनि त्यही फोकस क्षेत्र हो,' उनले भने ।
विद्युतीय सवारीको बिक्री उकालो, अन्य बजारमा संकुचन
यद्यपि अडीले विश्वभर पहिलो त्रैमासिकमा ३.४ प्रतिशत कम गाडी बिक्री गरेको छ, कम्पनीका विद्युतीय सवारीहरूको बिक्री भने ३०.१ प्रतिशतले बढेको छ । उत्तर अमेरिकामा (मेक्सिको बाहेक) अडीको बिक्री २.१ प्रतिशतले घटेको छ भने चीनमा तीव्र प्रतिस्पर्धाका कारण बिक्री ७ प्रतिशतले घटेको कम्पनीले जनाएको छ ।
शुल्कले मूल्य वृद्धि र बजारमा असर
युरोपेली गाडी निर्माता कम्पनीहरूमाथि अमेरिकी शुल्कले ठूलो असर पारिरहेको छ । शुल्कका कारण गाडीको मूल्य हजारौं डलरले बढ्ने देखिएको छ । शुल्कले पहिले नै चुनौती भोगिरहेको विश्व अटो उद्योगमा थप दबाब सिर्जना गर्ने विश्लेषण गरिएको छ।
अडीले हाल अमेरिकी बजारलाई मेक्सिकोको सान जोस चिएपा कारखानाबाट सेवा दिइरहेको छ, जहाँ लोकप्रिय क्यू फाइभ मोडल उत्पादन हुन्छ र ५ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।
ल्यान्ड रोभरको अमेरिका गाडी निर्यात पुनः सुरु
मस्क बिनाको टेस्ला, निल्नु न ओकल्नुको अवस्थामा बोर्ड
ईयूमा शुल्कबाट बच्न प्लग-इन हाइब्रिड बढी बेच्दै चिनियाँ अटो कम्पनी