९ महिनामा जीवन बीमकको १४ प्रतिशतले बढ्यो व्यवसाय, कसको व्यवसाय कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैत महिनासम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब २६ अर्ब बढी कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमकहरूले १ करोड ३५ लाख ३९ हजार ५१० वटा बीमा पोलिसी बिक्री गरी १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्।

कम्पनीहरूले आर्जन गरेको कुल व्यवसाय १४.६२ प्रतिशतले बढेको हो । गत आवको यही अवधिमा कम्पनीहरूले १ खर्ब १० अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए । 

चालु आवको ९ महिनाको अवधिमा सबैभन्दा धेरै व्यवसाय गर्ने जीवन बीमा कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । नेपाल लाइफले ९ महिनाको अवधिमा ३३ अर्ब १ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । 

कम्पनीले आर्जन गरेको व्यवसाय गत आवको भन्दा १२.०९ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा कम्पनीले २९ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो ।

धेरै बीमा शुल्क संकलन गर्ने दोस्रो बीमा कम्पनीमा नेशनल लाइफ इन्स्यारेन्स रहेको छ । नेशनल लाइफले चालु आवको ९ महिनामा गत आवको यही अवधिको तुलनामा २.१३ प्रतिशतले व्यवसाय बढाएको छ । कम्पनीले गत आवमा १२ अर्ब ८९ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेकोमा चालु आवको ९ महिनामा १५ अर्ब ६४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । 

त्यस्तै, धेरै बीमा शुल्क आर्जन गर्ने तेस्रो कम्पनी एलआईसीले चालु आवको चैत्र मसान्तसम्ममा १४ अर्ब ३ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले चालु आवमा आर्जन गरेको व्यवसाय गत आवको तुलनामा ९.३९ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा कम्पनीले १२ अर्ब ८३ करोड १० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । 

अन्य जीवन बीमा कम्पनीहरूमा हिमालयन लाइफले १२ अर्ब ५९ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब १६ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ७ अर्ब ६५ करोड रुपैयाँ, एशियन लाइफले ६ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै सिटिजन्स लाइफले ५ अर्ब ८ करोड रुपैयाँ, सानिमा रिलायन्स ४ अर्ब ८४ करोड रुपैयाँ, मेट लाइफले ४ अर्ब ४४ करोड, आईएमई लाइफ ३ अर्ब ७७ करोड , रिलाइबल नेपाल ३ अर्ब ६९ करोड, प्रभु् महालक्ष्मी ३ अर्ब ६७ करोड रुपैयाँ र सन नेपालले ३ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन्। 

null

Share News