निर्जीवन बीमकको व्यवसाय ३२ अर्ब १३ करोड, शिखर सबैभन्दा अगाडि

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले ३२ अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । आइतबार नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमकहरूले ९ महिनामा २१ लाख ३५ हजार २३३ बीमा लेख जारी गर्दा ३२ अर्ब १२ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

नीर्जीवन बीमा कम्पनीहरूले चालु आवको ९ महिनाको अवधिमा आर्जन गरेको बीमा शुल्क गत आवको सोही अवधिको तुलनामा ७.११ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा कम्पनीहरुले २१ लाख ९३ हजार ५४७ वटा बीमालेख जारी गरी २९ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।

निर्जीवन बीमकहरूले चैत्र महिनामा मात्रै २ लाख ९१ हजार ७७६ बीमा लेख जारी गर्दै ४ अर्ब १० करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

धेरै व्यवसाय गर्नेमा शिखर अगाडि

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ९ महिनाको अवधिमा सर्वाधिक व्यवसाय आर्जन गर्नेमा शिखर इन्स्योरेन्स अगाडि देखिएको छ । शिखरले चैत्रसम्ममा४ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्ष यही अवधिको तुलनामा २.८५ प्रतिशतले बढेको हो । 

अघिल्लो आवको यही अवधिमा कम्पनीले ४ अर्ब २२ करोड ५५ लाख रुपैयाँ व्यवसाय आर्जन गरेको थियो । दोस्रो धेरै व्यापार गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स(सलिको) रहेको छ । सलिकोले ९ महिनाको अवधिमा ३ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ व्यवसाय गरेको छ । सलिकोले गरेको व्यवसाय गत आवको तुलनामा ५.८४ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा कम्पनीले ३ अर्ब ५३ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । 

धेरै कुल बीमा शुल्क आर्जन गर्ने तेस्रो कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले चैत्र मसान्तसम्ममा ३ अर्ब १० करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २ अर्ब ४९ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।  अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ७.४५ प्रतिशतले वृद्धि भएको देखिन्छ।

चालु आवको चैत्रसम्ममा हिमालयन एभरेस्ट इन्स्योरेन्सले अघिल्लो आवको तुलनामा ९.२८ प्रतिशतले व्यवसाय बढाएको छ । उक्त कम्पनीले गत आवको चैत्रसम्ममा २  अर्ब ५४ करोड ८९ लाख रुपैयाँ व्यवसाय गरेकोमा चालु आवको यही अवधिमा २ अर्ब ७८१ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ ।

अन्य नीर्जीवन बीमा कम्पनीहरूमा चालु आवको ९ महिनाको अवधिमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ७३ करोड ४९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ४७ करोड १८ लाख रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब १५ करोड ४६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब १३ करोड ४५ लाख रुपैयाँ, सानिमा जिआइसीले १ अर्ब ९२ करोड १९ लाख, नेपाल इन्स्यारेन्सले १ अर्ब ५५ करोड ८८ लाख र नेशनल इन्स्यारेन्सले ८७ करोड ९५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । 

३ कम्पनीको व्यवसाय घट्यो 

चालु आवको ९ महिनामा तीन निर्जीवन बीमा कम्पनीको व्यवसाय घटेको छ । राष्ट्रिय बीमा, युनाइटेड अजोड र प्रभु इन्स्याेरेन्सको व्यवसाय गत गत आवको तुलनामा चालु आवमा घटेको हो । 

राष्ट्रिय बीमा कम्पनीको व्यवसाय चालु आवको चैत्र मसान्तसम्ममा गत आवको तुलनामा १३.३१ प्रतिशतले कमी आएको छ । कम्पनीले गत आवमा १ अर्ब ३० करोड ६४ लाख रुपैयाँ कुल व्यवसाय गरेकोमा चालु आवमा १ अर्ब १३ करोड २६ लाख रुपैयाँ मात्रै व्यवसाय गरेको हो । 

युनाइटेड अजोडको व्यवसाय गत आवको तुलनामा ६.२४ प्रतिशले घटेर १ अर्ब ८५ करोड ४९ लाख रुपैयाँ आर्जन भएको छ । गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब ९७ करोड ८३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो । 

त्यस्तै, प्रभु इन्स्योरेन्स कम्पनीको व्यवसाय गत आवको तुलनामा चालु आवमा १.३१ प्रतिशतले कमी आएको छ । गत आवमा कम्पनीले १ अर्ब ३२ करोड ६८ लाख रुपैयाँ व्यवसाय गरेकोमा चालु आवको ९ महिनामा १ अर्ब ३० करोड ९४ लाख रुपैयाँ व्यवसाय गरेको छ । 

null

 

Share News