ललितपुर । ललितपुर महानगरले पर्यटकलाई लक्षित गरेर पाटन दरबार क्षेत्रमा निर्माण गरेको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ ।
आइतबार महानगरले एक कार्यक्रमको आयोजना गरी नवनिर्मित शौचालय सञ्चालनमा ल्याएको हो ।
शौचालय सञ्चालन गर्ने जानकारी दिन आयोजित कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जनले विधि र प्रक्रिया पूरा गर्दा गर्दै शौचालय निर्माणका लागि केही समय लागे पनि शौचालय निर्माणको काम सम्पन्न भएको बताए ।
उनले भने, ‘हाम्रो सहरको मौलिकता झल्कने गरी शौचालय बनाएका छौं, यो शौचालयले अब आन्तरिक र बाह्य पर्यटकका लागि सहज हुन्छ ।’

यसअघि पाटन दरबार क्षेत्र घुम्न आउने पर्यटकहरूको लागि पर्याप्त र व्यवस्थित शौचालायको प्रयोग गर्न नपाएको गुनासो हुँदै आएकोमा अब भने पर्यटकलाई शौचालय खोज्न भौतारिनु नपर्ने उनले बताए ।
महानगर प्रमुख महर्जन चिरीबाबु महर्जनले यो शौचालय निर्माण महानगरको मात्रै नभई सम्पूर्ण पालिकाको लागि ‘सो केस प्रोजेक्ट’ भएको बताए । यस अघि पाटन दरबार क्षेत्रमा सार्वजनिक शौचालय भए पनि यहाँको आवश्यकतालाई पूर्ति गर्ने किसिमको थिएन ।
संस्कृति पर्यटन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले आन्तरिक र बाह्य पर्यटकलाई शौचालय निर्माणले सहज बनाएको बताउँदै पुरातात्विक मौलिकतालाई प्राथमिकतामा राख्नु महत्त्वपूर्ण भएको बताए ।
ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले ऐतिहासिक र पुरातात्विक महत्त्वलाई ध्यानमा राखेर शौचालयको भवन निर्माण गरेको जानकारी दिइन् ।
पर्यटकलाई सुविधा दिँदै पुरातात्विक महत्त्व पनि कायम राख्ने गरी महानगरले अत्याधुनिक पर्यटकीय शौचालय निर्माण गरेको उनले बताइन् । महानगरको यो परियोजनासम्पदा र आधुनिकताको समिश्रण युक्त परियोजना भएको उनले भनाइ छ ।

महानगरका प्रवक्ता राजु महर्जन पूर्वाधार निर्माणका अन्य अवयवमध्ये सार्वजनिक शौचालय पनि एक भएको जानकारी दिए । ललितपुर महानगरको २९ वटा वडामध्ये धेरैवटा वडामा सार्वजनिक शौचालय निर्माण भइरहेको बताए ।
पाटन दरबार क्षेत्रमा अत्याधुनिक शौचालय अत्यावश्यक भएको बताए । उनले भने, ‘शौचालय अति आवश्यक कुरा हो, अब हामी आवश्यकता हेरेर बनाउँछौं ।’
पूर्वाधार निर्माण महाशाखा प्रमुख प्रदीप पौडेलले पब्लिक स्यानिटेसनलाई सुधार गर्नका लागि यो महत्वपूर्ण परियोजना भएको उल्लेख गरे ।
सम्पदा क्षेत्रको पुरातात्विक मौलिकतामा ध्यान दिई शौचालयको बाहिरी वनावट काष्ठ कला र चुनासुर्की सहितको मा अप इँटाको प्रयोग भएको छ । शौचालयको छाना झिंगटी टायलसहित दुई पाखे गरी निर्माण गरिएको छ ।
यो शौचालयको निर्माणको जिम्मा पीपी एण्ड पी सिर्जनशील जेभीले पाएको थियो । शौचालय निर्माणको लागि महानगर र निर्माण कम्पनीबीच २०८० वैशाख १ गते भएको थियो । उक्त कम्पनीले सौचालय निर्माणको ठेक्का एक करोड १० लाख ७५ हजारमा पाएको थियो । महानगरका अनुसार कुल लागत एक करोड २६ लाखमा शौचालय निर्माण भएको हो ।
आधुनिक प्रविधिको अपाङ्गतामैत्री यो शौचालयमा पुरुषको लागि ६ वटा युरेनलसहितको तीन वटा शौचालय, महिलाको लागि ६ वटा शौचालय, १ वटा अपाङ्गतामैत्री शौचालय, १ वटा स्तनपान कक्ष राखिएको छ । अत्याधुनिक स्यानिटी सामग्रीसमेत रहेको छ ।