काठमाडौं । टिकटकले नेपालमा कलिला प्रयोगकर्ताहरूका लागि जिम्मेवार र सुरक्षित अनलाइन अनुभव प्रवर्द्धन गर्न परिवारहरूलाई सहयोग गर्ने उद्देश्यले आफ्नो नयाँ 'फ्यामिली पेयरिङ' फिचर सुरु गरेको छ ।
यस फिचरमार्फत अभिभावकहरूले आफ्ना टिनएजर (किशोर-किशोरी) को टिकटक एकाउन्टलाई आफ्नो एकाउन्टसँग जोड्न सक्नेछन्, जसले गर्दा उनीहरूलाई सेफ्टी सम्बन्धी धेरै विकल्पहरूमा पहुँच मिल्ने कम्पनीले जनाएको छ ।
यसबाट परिवारका सदस्यहरूबीच जिम्मेवार र सुरक्षित इन्टरनेट प्रयोगको संस्कार विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
फ्यामिली पेयरिङ फिचर सुरु गर्नको लागि टिकटकको 'सेटिङ्स एण्ड प्राइभेसी' मेनुमा गएर क्यूआर कोड स्क्यान गरेर अकाउन्टहरू आपसमा जोड्न सकिन्छ ।
एकचोटि अकाउन्ट जोडिएपछि अभिभावकहरूले आफ्ना छोराछोरीको फोन नछोइकनै आफ्नै मोबाइलबाट सिधै सुरक्षासम्बन्धी सेटिङहरू परिवर्तन गर्न सक्नेछन् ।
फ्यामिली पेयरिङमा १५ भन्दा बढी सुरक्षा, गोपनीयता र डिजिटल वेल–बिइंगसँग सम्बन्धित कस्टमाइजेबल फिचरहरू छन् जसलाई अभिभावकले आफ्ना छोराछोरीको टिकटक अनुभव अनुसार मिलाउन सक्नेछन् ।
जस्तै, यसमा दैनिक स्क्रीन टाइम सीमित गर्ने, मेसेजिङ र कमेन्ट रोक्ने, उमेरअनुसारको कन्टेन्ट देखिने बनाउने, एकाउन्ट खोज्न मिल्ने या नमिल्ने बनाउने, सर्च सेटिङ कन्ट्रोल गर्नेजस्ता फिचरहरू रहेका छन् ।
'टिकटकका लागि हाम्रो कम्युनिटीको सुरक्षा प्रमुख प्राथमिकतामा पर्दछ, विशेष गरी जब (टिन) युजरहरूको कुरा आउँछ। नेपाली परिवारहरूलाई जिम्मेवार डिजिटल व्यवहारलाई प्रोत्साहन गर्ने उपयोगी टुलहरू प्रदान गर्ने प्रयासकै एक हिस्साको रूपमा फ्यामिली पेयरिङ फिचरको सुरुवात गरिएको हो,’ टिकटकका लागि दक्षिण एसिया क्षेत्रका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिरदौस मोत्तकिनले भने ।
यो फिचरलाई देशभर पुर्याउन टिकटकले नेपालको चर्चित सेलिब्रिटीहरू र डिजिटल इन्फ्लुएन्सरहरूसँग सहकार्य गर्दै जनचेतनामूलक अभियान पनि सञ्चालन गर्दैछ ।
यो अभियान मुलधारका मिडिया, आउटडोर बिलबोर्डहरू तथा सामाजिक सञ्जालमार्फत प्रचार गरिनेछ ।
टिकटकले विश्वभरका प्रयोगकर्ताहरूलाई सुरक्षित र पारदर्शी अनुभव दिन नीतिहरू र फिचरहरू ल्याउँदै आएको छ । नेपालमा ‘फ्यामिली पेयरिङ’को सुरुवात पनि सोही दीर्घकालीन रणनीतिको हिस्सा हो ।