सेयर बजारका बादशाह बफेटले सीईओ पद छाड्दै, ग्रेग एबेल बन्दै उत्तराधिकारी

काठमाडौं । सेयर बजारका बादसाहका रूपमा परिचित वारेन बफेटले पदबाट सन्यास लिने घोषणा गरेका छन् । यस वर्षको अन्त्यसम्ममा आफू प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट सन्न्यास लिने र ग्रेग एबेललाई आफ्नो उत्तराधिकारीको रूपमा सिफारिस गर्ने घोषणा उनले गरेका हुन्।

९४ वर्षीय बफेटले शनिबार बर्कशायर हाथवेको वार्षिक बैठकमा भने, 'भोलि हामी बोर्ड बैठक गर्दैछौं । मलाई लाग्छ, अब समय आएको छ कि ग्रेग एबेलले कम्पनीको  सीईओको जिम्मेवारी सम्हाल्नुपर्छ ।’

सन् २०२१ मा एबेललाई सीईओको उत्तराधिकारीको रूपमा घोषणा गरिए पनि यसपटकको औपचारिक घोषणा हजारौं सेयरधनीहरूका लागि अप्रत्याशित थियो ।

६ दशक लामो यात्राको उत्कर्षमा बिदाइ

सन् १९६५ मा एक असफल कपडा कारखाना किन्दै सुरु भएको बफेटको बर्कशायर यात्राले उनलाई ‘ओमाहाको भविष्यवक्ता’ बनायो । अहिले बर्कशायर हाथवे विश्वकै सबैभन्दा ठूला समूहहरूमध्ये एक बनेको छ, जसको बजार मूल्य झन्डै १.२ ट्रिलियन अमेरिकी डलर पुगेको छ ।

बफेटले स्पष्ट पारे, 'म अझै वरिपरि रहनेछु, तर कम्पनीको सञ्चालन र पूँजी व्यवस्थापनको अन्तिम निर्णय ग्रेगकै हुनेछ ।’

बफेटको विश्वास- ग्रेग एबेल अझ सक्षम

६२ वर्षीय एबेल हाल बर्कशायरका बीमा बाहेकका व्यवसायहरूको उपाध्यक्ष हुन् । बफेटले भने, 'ग्रेगको व्यवस्थापन शैली मेरोभन्दा प्रभावकारी छ । अहिले एबेलले निकै मेहनत गरिरहेका छन् ।’

बफेटले आफ्नो सम्पूर्ण सेयर होल्डिङमा राख्ने घोषणा गर्दै भने, 'यो आर्थिक निर्णय हो। मलाई लाग्छ, ग्रेगको नेतृत्वमा बर्कशायर अझै राम्रो प्रदर्शन गर्नेछ ।’

कम्पनी संस्कारको निरन्तरताको संकेत 

हाल बफेट बर्कशायरका अध्यक्षसमेत हुन् । अबको भूमिका कस्तो हुने भन्नेबारे आइतबाको बोर्ड बैठकमा छलफल हुनेछ । यसअघि बफेटले संकेत दिएका थिए कि आफ्नो मृत्युपछि उनका छोरा हाउइ बफेट गैर-कार्यकारी अध्यक्ष बन्नेछन् ।

शनिबारको घोषणा र एबेलको नाममा गरिएको सरप्राइज घोषणापछि ४० हजार सेयरधनीहरू उभिएर बफेटलाई सम्मानित गर्दै ताली बजाए ।

बर्कशायर निर्देशक रोन ओल्सनले टिप्पणी गरे, 'म यो घोषणाबाट अचम्ममा परें, तर यो प्रेरणादायी छ । अब म वारेनलाई ग्रेगका लागि चार्ली मंगरको भूमिकामा देख्न चाहन्छु ।’

नयाँ नेतृत्व, पुरानै दर्शन 

ग्रेग एबेलले भने, 'हामीले पूँजी विनियोजनमा बफेटले अपनाएको दीर्घकालीन दृष्टिकोणलाई निरन्तरता दिनेछौं । बर्कशायरको लगानी शैली परिवर्तन हुने छैन ।’

अब ६ दशक लामो नेतृत्वको अन्त्य भई बर्कशायर हाथवेमा नयाँ अध्याय सुरु हुनेछ।

Share News