कक्षा १२ को परीक्षा आजदेखि, सबैभन्दा कम मनाङ, काठमाडौंबाट धेरै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट एकैसाथ सुरु गर्ने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पूर्ण परीक्षार्थीलाई आग्रह गरे । परीक्षा बिहान ८ बजेदेखि ११ बजे हुने छ । 

आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर १ हजार ५९० र जापानमा एक गरी कुल १ हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौंमा १६२ र कम मनाङ-मुस्ताङमा एक/एक केन्द्र निर्धारण गरिएको अध्यक्ष शर्माले जानकारी दिए । 

परीक्षाका लागि त्यत्ति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याका आधारमा करिब २ हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । परीक्षामा ५ हजार २०२ विद्यालयका नियमिततर्फ १ लाख ९८ हजार ८७५  छात्र र १ लाख ९७ हजार १३ छात्रा गरी ३ लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना गरी कुल ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने अध्यक्ष शर्माले जानकारी दिए । 

यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा धेरै काठमाडौंबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षामा कम श्रवण शक्ति, दृष्टि विहीन, सुस्त मनस्थिति वा अरू प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका निम्ति विशेष व्यवस्था गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । 

त्यसैगरी, कारागार वा बाल सुधार गृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ । जिल्ला परीक्षा समन्वय समिति वा परीक्षा नियन्त्रकको अनुमतिबिना जोकोहीलाई परीक्षा केन्द्रमा प्रवेश गर्न दिइने छैन भने परीक्षाको मर्यादा पालना नगरेको अवस्थामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षक तत्काल परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ । 

परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्षबाहेक अरू कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण निषेध गरिएको छ । परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक डिभाइस (लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटरबाहेक) लैजान निषेध गरिएको बोर्डले जनाएको छ ।

परीक्षाको मर्यादा विपरीत शिक्षक/कर्मचारी/निरीक्षक/परीक्षार्थीहरूबाट मोबाइललगायत प्रतिबन्धित सामग्री लगेको अवस्थामा सर्च/अनुगमन गर्दा नियन्त्रणमा लिएमा उक्त सामग्रीका सम्बन्धमा शिक्षा ऐन, २०२८ को दफा १७ (१ क) ‘च’ अनुरूप परीक्षाको मर्यादा भङ्ग गरेको अभियोगमा कानुनी कारबाही गरिने व्यवस्था गरिएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, उर्दु व्याकरण विषयको परीक्षा हुनेछ । 

परीक्षामा साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अङ्क ७८, ७९, ८० र ८१ हुने) र प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अङ्क ७९, ८०, ८१ हुने) सहभागी हुने बोर्डले जनाएको छ ।

Share News