सूचना प्रविधिमा ललितपुर महानगरको नेतृत्वदायी फड्को, ‘आईसीटी अवार्ड २०२५’ बाट सम्मानित

ललितपुर । मुलुकभरका स्थानीय तह र प्रदेश सरकारलाई उछिन्दै ललितपुर महानगर सूचना तथा संचार प्रविधि मन्त्रालयबाट सम्मानित भएको छ ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री के पी शर्मा ओलीले आइसिटी सूचना प्रविधि अवार्ड २०२५बाट महानगर प्रमुख चिरीबाबु महर्जनलाई सम्मान गरे । 

ललितपुर महानगरले सूचना प्रविधि प्रयोग गरी सेवा प्रवाह ,विकास निर्माण, सचेतना कार्यक्रमलाई प्रभावकारी बनाएको भन्दै सम्मान गरेको सूचना तथा संचार प्रविधि मन्त्रालयले जनाएको छ ।  

अवार्ड ग्रहण गरेपछि महानगर प्रमुख चिरीबाबु महर्जनले टिम वर्कका कारण अवार्ड प्राप्त गर्न सफल भएको बताए । उनले भने, ‘हामीले महानगरभित्र सम्पादन हुने काम, कुरालाई प्रविधिसँग जोडेका छौं ।’ विपद्को जानकारी दिन एलएमसी एप, सुरक्षाका लागि सिटि टिभी क्यामेरा , इन्टिलिजेन्ट ट्राफिक लाईट लगायतका विषयलाई सूचना प्रविधिसँग जोडेको बताए ।

उनले भने , ‘प्रविधिकै कारण महानगरबासीले फाइल बोकेर कोठा कोठामा पुग्न नपर्ने बनाएका छौं ।’ एकद्धार प्रणालीद्वारा काम गर्दा समयको बचतदेखि काम चुस्त रुपमा भएको उनको भनाई थियो । 

महानगरको कामलाई प्रभावकारी बनाउन सूचना, प्रविधिको क्षेत्रमा योजनाबद्ध ढंगबाट काम गरिरहेको बताए । मन्त्रालयले सूचना, प्रविधिको क्षेत्रमा काम गर्ने विभिन्न निजी संघ संस्था र व्यक्तिलाई समेत उक्त अवार्डबाट सम्मान गरेको थियो ।

Share News