काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकालाई नेपालको सिलिकन भ्याली बनाइने बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।
उनले ललितपुर महानगरपालिकालाई नेपालको सिलिकन भ्याली बनाउने काममा महानगर लागिपरेको बताए ।
प्रमुख महर्जनले आइटी क्षेत्रमा काम गर्नेहरूलाई ललितपुर महानगर रातो कार्पेट बिछ्याएर स्वागत गर्न तयार रहेको बताए ।
उनले भन्नुभयो, ‘यो छिटै कार्यान्वयन हुन्छ । ललितपुर महानगरपालिकालाई शिक्षाको हब भन्छन् । तर अब हामी ललितपुर महानगरलाई नेपालको सिलिकन भ्याली बनाउनको निमित्त हामी लागि परेका छौं । यो खासै गाह्रो कुरा होला जस्तो मलाई लाग्दैन । त्यसैले हामी आज पुरस्कृत हुनुहुने र अन्यहरूसँग पनि आइसिटी क्षेत्रमा सहकार्य गर्न सदा सर्वदा तयार छौं । हामी तपाईंहरुलाई रातो कार्पेट बिच्छ्याएर स्वागत गर्दछौं ।’
उनले शिक्षाको हबका रूपमा रहेको ललितपुर महानगरलाई सिलिकन भ्यालीका रुपमा अघि बढाइने प्रतिवद्धता जनाए ।