काठमाडौं । टेस्लाको प्रमुख कार्यकारी अधिकृत (सीईओ )एलन मस्कको नेतृत्वमाथि उठेका शंका र आलोचनाबीच कम्पनीको बोर्डले बिहीबार मस्कको बचाउ गर्दै उनीप्रति 'उच्च विश्वास' रहेको बताएको छ ।
वाल स्ट्रीट जर्नलको रिपोर्टअनुसार बोर्डले मस्कलाई प्रतिस्थापन गर्ने विचार गरेको दाबी गरिएको थियो, जसलाई बोर्ड अध्यक्ष रोबिन डेन्होल्मले अस्वीकार गरिन् । यद्यपि डेन्होल्म आफै बोर्डको निष्क्रियता र मस्कलाई जवाफदेही बनाउन असफल भएको आरोपमा आलोचित हुँदै आएकी छन् ।
मस्कको लामो अनुपस्थिति, विवादास्पद राजनीतिक अभिव्यक्ति र टेस्लाको घट्दो ईभी बिक्री र मुनाफाले लगानीकर्ता चिन्तित भइरहेका छन् । खासगरी यूरोपमा टेस्लाको ईभी बिक्रीमा तीव्र गिरावट आएको छ, जहाँ मस्क र अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पप्रति जनविरोध बलियो छ ।
मस्क पछिल्लो समय ट्रम्पको सल्लाहकार भूमिकामा केन्द्रित देखिएका छन्, जसले टेस्लाका उदारवादी ग्राहकहरूलाई टाढा बनाएको बताइएको छ ।
टेस्ला अहिले एक जटिल संकटमा फसेको विश्लेषकहरूको भनाइ छ- मस्कको नेतृत्वबिना कम्पनीको पहिचान कमजोर हुनसक्छ, तर उनको व्यवहारले व्यवसायलाई पनि हानी पुर्याइरहेको छ ।
'मस्क टेस्लाभन्दा ठूलो'
डीपवाटर एसेट म्यानेजमेन्टका जीन मुनस्टर भन्छन्– 'मस्कलाई प्रतिस्थापन गर्नु असम्भवजस्तै छ । उनी टेस्लाभन्दा पनि ठूलो व्यक्तित्व हुन् ।’
ज्याक्स इन्भेस्टमेन्ट म्यानेजमेन्टका ब्रायन मुलबेरीका अनुसार मस्कको विकल्प खोज्नु १० बुँदे कठिनाइ स्केलमा '८ वा ९' हुनसक्छ । 'त्यस्तो व्यक्तिले आफ्नै करिश्मा लिएर आउनुपर्छ,’ उनले बताए ।
कार्यकारीहरूको बहिर्गमन
गत वर्षदेखि टेस्लाबाट धेरै वरिष्ठ कार्यकारीहरू बाहिरिएको पाइएको छ, जसमा कम्पनीलाई ईभीकेन्द्रित राख्न चाहनेहरू थिए । उनीहरूले बोर्डसँग मस्कको रणनीति बदल्न आग्रह गरे पनि बोर्डले मस्ककै पक्ष लिएको स्रोतहरूले जनाएका छन् ।
स्रोतका अनुसार केही कार्यकारीहरूले मस्कलाई मुख्य कार्यकारीबाट हटाई उनको स्थानमा दिनहुँको सञ्चालन सम्हाल्न सक्षम व्यक्तिलाई नियुक्त गर्न सुझाव दिएका थिए- जसरी स्पेशएक्समा गुयन्न शटवेल सञ्चालन प्रमुखका रूपमा कार्यरत छिन् । तर मस्कले टेस्लामा त्यो मोडल अस्वीकार गरेका छन् ।
भविष्यप्रति आशा र शंका
टेस्लाका कट्टर समर्थकहरूले मस्कलाई भविष्य ल्याउने ‘जीनियस’ मान्छन् । यद्यपि, मस्कले वर्षौंअघिदेखि वाचा गरेका रोबोट, रोबोट्याक्सी र पूर्ण स्वचालित ड्राइभिङ अझैसम्म व्यवसायिक रूपमा सुरु भएका छैनन् ।
फ्युचर फण्डका ग्यारी ब्ल्याक लेख्छन्– 'टेस्ला भित्र यस्तो कोही व्यक्ति देखिँदैन जससँग मस्कसरह व्यापक रणनीतिक, प्राविधिक, र कार्यान्वयन क्षमताहरू छन् ।’
निजी लगानीकर्ता जेम्स म्याकरिचीले बोर्ड मस्कको प्रभावमा रहेको र उनीहरूले मस्कविरुद्ध जान नचाहने सम्भावना औंल्याउँदै भने, 'टेस्लाको सेयर मूल्य मस्कप्रतिको प्रेम र उनको रोबोट सपना प्रति आशामाथि आधारित छ ।’
बोर्ड अध्यक्ष डेन्होल्मले भनेका छन्- 'हामी मस्कले आगामी विकास योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नसक्नेमा अत्यन्तै विश्वस्त छौं ।’
ईयूमा शुल्कबाट बच्न प्लग-इन हाइब्रिड बढी बेच्दै चिनियाँ अटो कम्पनी