काठमाडौं । बीवाईडी र चेरीजस्ता चिनियाँ सवारी निर्माता कम्पनीहरू युरोपेली आयोग (ईयू) मा चिनियाँ-निर्मित विद्युतीय सवारीहरूमा लाग्ने आयात शुल्कबाट बच्न प्लग-इन हाइब्रिड सवारी (पीएचईभी) बढी बेच्ने गरेको पाइएको छ ।
शुक्रबार सार्वजनिक गरिएको एक रिपोर्टमा उक्त तथ्यांक उल्लेख गरिएको हो ।
अनुसन्धान संस्था रो मोशनका अनुसार यी दुई ब्रान्डहरूले सन् २०२५ को मार्चमा क्रमशः ३ हजार २६९ र ७५७ वटा पीएचईभी ईयूभित्र बेचेका थिए, जुन सन् २०२४ को जुलाईमा अस्थायी शुल्क लागू हुँदा झण्डै शून्य बिक्री थियो ।
चिनियाँ–निर्मित ब्याट्री-विद्युतीय सवारी (बीईभी) हरूमा ईयूले ४५.३ प्रतिशतसम्मको शुल्क नोभेम्बरदेखि पूर्ण रूपमा लागू गरेको छ ।
अमेरिकी शुल्कको असर सामना गरिरहेका बेला ईयू र चीन बीचमा यी शुल्कहरू केही कम गर्ने विषयमा वार्ता चलिरहेको छ ।
ईयूको शुल्क र युरोपमा ब्याट्री-विद्युतीय सवारीको अपेक्षाभन्दा ढिलो स्वीकृतिका कारण बीवाईडी र लीपमोटरजस्ता ईभी निर्माता कम्पनीहरूले युरोपेली बजारका लागि आफ्नो रणनीति फेरिरहेका छन् ।
मंगलबार, बीवाईडीले यो वर्ष जर्मनीमा थप दुई पीएचईभी मोडेलहरू ल्याउने घोषणा गरेको थियो ।
बीवाईडीले ईयूमा बेचिने बीईभीमा २७.५ प्रतिशत शुल्क तिर्छ, जबकि पीएचईभीमा मात्र १० प्रतिशत । यसले जर्मनीमा बेचिने प्रत्येक अट्रो थ्री बीईभीमा १० हजार २५७ युरो (११ हजार ६५६ डलर) शुल्क तिर्नुपर्छ, जबकि सील यू पीएचईभीमा मात्र ३ हजार ९९९ युरो शुल्क लाग्छ ।
बीवाईडीको मार्च महिनामा ईयूमा बीईभीको बिक्री ४ हजार ६३३ पुगेको थियो, जुन मार्च २०२४ को तुलनामा दोब्बर हो । तर पीएचईभी बिक्री शून्यबाट ३ हजार २६९ मा पुगेको छ ।
चेरी जसले पनि बीईभीमा १० प्रतिशत आधारभूत शुल्क र २१.३ प्रतिशत अतिरिक्त शुल्क तिर्छ, उसले ३१० बीईभी र ७५७ पीएचईभी बिक्री गरेको थियो ।
एसएआईसले ३५.३ प्रतिशतको सबैभन्दा उच्च बीईभी शुल्कको सामना गरिरहेको छ । तर उसले पीएचईभीको बिक्रीमा बीवाईडी वा चेरीजत्तिको वृद्धि गर्न सकेको छैन ।
'निर्माताहरूले बजारमा पुग्न वैकल्पिक बाटो पत्ता लगाउने समय मात्र पर्खन बाँकी थियो,' रो मोशनका सदस्यता सम्पादक डिडी बोस्टकले भने, 'र अहिले तिनीहरूले त्यो बाटो हाइब्रिडमार्फत पाएका छन् ।’