१६ वर्षपछि खाद्यको नाममा हस्तान्तरण, ट्रेड टावरमा लगानी गरेका जनताको पैसा के हुन्छ ?

काठमाडौं । ट्रेड टावर लिमिटेडले वैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्यो । कम्पनीले आईपीओ बिक्री खुला गरेपछि एक लगानीकर्ताले सामाजिक सञ्जाल फेसबु्कमा लेखे, ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जग्गामा ३० वर्षका लागि ट्रेड टावरको भवन बनाइएको छ । अब १२/१५ वर्ष मात्रै बाँकी छ । त्यस्ता कम्पनीलाई आईपीओ निष्काशनका लागि स्वीकृति दिएको छ । तर, भवन खाली छ । भाडामा लागेको छैन । कसैले किनेको छैन ।’

अबको डेढ दशकपछि भवनसहित सबै सम्पत्ति खाद्य कम्पनीलाई बुृझाउनु पर्ने उनको बुझाइ छ । तर, भवन चुहिएर काम नलाग्ने भइसकेको उनले दाबी गरे । आईपीओ निष्काशनको प्रक्रियामा रहेका बेला लगानीकर्ताहरूमा नकारात्मक असर पर्ने देखेपछि कम्पनीका एक सञ्चालकले फोन गरेर स्टाटस हटाउन लगाए । अहिले ती लगानीकर्ताले आफ्नो स्टाटस हटाइसके । 

ट्रेड टावरले लिजिङ्ग एण्ड फाइनान्सिङ्ग, प्रोजेक्ट डेभलपमेन्ट, पूर्वाधार विकासका क्षेत्रहरू लगायत होटल, हस्पिटालिटी र पर्यटन क्षेत्रमा समेत कार्य गर्दै आएको छ । कम्पनीको पहिलो परियोजना हो, थापाथलीस्थित ट्रेड टावर । उक्त परियोजना नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी (साविक खाद्य संस्थान)को जमीन ३० वर्षका लागि लिजमा लिई कर्पोरेट कम्प्लेक्स निर्माण गरी विगत १५ वर्षदेखि सञ्चालनमा छ ।

थापाथली परियोजनाको लिज अवधि २०८१ असारसम्म १६ वर्ष बाँकी छ । १६ वर्षपछि थापाथली परियोजनाको सबै सम्पत्ति खाद्य कम्पनीको नाममा हस्तान्तरण हुनेछ । त्यसपछि कम्पनीको सम्पत्ति खाद्यमा हस्तान्तरण भएपछि पुँजी बजारमा कारोबार हुन्छ कि हुँदैन भन्ने विषयले लगानीकर्ताहरूलाई अन्याैल बनाएको छ ।

यस्तो छ सम्झौता 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सम्पत्ति व्यवस्थापन विभाग प्रमुख दीपक कार्कीका अनुसार २०६५ सालमा थापाथलीको ११ रोपनी ६ आना क्षेत्रफल जग्गा ट्रेड टावर कम्पनीलाई लिजमा दिइएको हो । सम्झौतामा खाद्य पहिलो पक्ष र कञ्चनजङ्घा हाउजिङ दोस्रो पक्ष हुने उल्लेख छ । खाद्यको तर्फबाट तत्कालीन महानिर्देशकले हस्ताक्षर गरेका थिए भने २ जना साक्षी थिए । 

यस्तै, कञ्चनजङ्घा हाउजिङकोतर्फबाट मुख्य व्यक्ति गुरु न्यौपानेले सम्झौतामा हस्ताक्षर गरेका थिए भने साक्षी थिए शिवहरि दंगालसहित अन्य २ जना । दंगाल हाल ट्रेड टावर कम्पनीको अध्यक्ष छन् । खाद्यले थापाथलीको भवन भोगचलन गर्ने समयसम्म अर्थात् ३० वर्षको अवधि सकिँदासम्म ट्रेड टावरबाट कुल २० करोड रुपैयाँ भाडा असुल गर्नेछ ।

‘खाद्यको नाममा रहेको थापाथलीस्थित ११ रोपनी ६ आना जग्गा व्यावसायिक, कार्यालय र आवासीय भवन प्रयोजनका लागि लिजमा दिएको हो । अहिले खाद्यको स्वामित्वमा जग्गा मात्रै छ । ट्रेड टावरले भोगचलन गर्दै आएको भवनसहित सबै सम्पत्ति ३० वर्षपछि खाद्यले भोगचलन गर्नेछ,’ कार्कीले भने, ‘कबुलियत गरेको रकम प्रत्येक ५/५ वर्षमा परिवर्तन हुने सर्त छ । पहिलो २ वर्षका लागि १६ लाख ४० हजार रुपैयाँ, ३ देखि ७ वर्षका वार्षिक ६० लाख ४८ हजार रुपैयाँ र अन्तिममा २७ देखि ३० वर्षका लागि ७७ लाख ८६ हजार रुपैयाँ गरेर ३० वर्षमा कुल १९ करोड ३७ लाख रुपैयाँ भाडावापत असुल हुनेछ ।’ 

कार्कीका अनुसार ट्रेड टावरले थापाथलीको जग्गामा निर्माण गरेका संरचनाहरू जे जस्तो अवस्थामा छ सोही अवस्थामा खाद्यलाई बुझाउनु पर्नेछ । साथै हस्तान्तरणको समयमा सम्पत्तिहरूमा कुनै क्षति पुगेको छ भने सम्बन्धित कम्पनीले पुन: निर्माण गरेर बुझाउनुपर्ने उनको भनाइ छ । भूकम्प लगायत प्राकृतिक विपत्तिले कुनै समय राम्रोसँग चलाउन पाएको छैन भने उक्त अवधि थप समय उपलब्ध हुन सक्ने सम्झौता रहेको कार्कीले बताए । कार्कीका अनुसार कम्पनीले नियमित भाडा तिर्दै आएको छ ।

आईपीओबारे छैन जानकारी 

ट्रेड टावर कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार रुपैयाँको ४८.६९६ प्रतिशत अर्थात् ३९ करोड ७१ लाख ६९ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । 

कुल सेयरमध्ये कम्पनीमा कार्यरत कर्मचारीलाई २ प्रतिशत अर्थात् ७९ हजार ४३३.८६ कित्ता, सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात् १ लाख ९८ हजार ५८४.६५ कित्ता, विदेशमा बसी रोजगारी गरिरहेका नेपालीलाई १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९.३० कित्ता र बाँकी रहेको ३२ लाख ९६ हजार ५०५ कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ ।

कम्पनीले पहिलो चरणमा वैशाख ८ गतेदेखि सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख ९७ हजार १६९ कित्ता सेयर बिक्री खुला गरेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरू वैशाख २२ गतेसम्म आवेदन दिन पाउनेछन् । साथै, उक्त सेयर वितरणपश्चात् सर्वसाधारण लगानीकर्तालाई कम्पनीले आईपीओ बिक्री गर्नेछ । 

तर, खाद्यको जग्गामा भवन निर्माण गरी  भाडाको आम्दानी देखाइरहेको ट्रेड टावरले आईपीओ निष्काशनको बारेमा खाद्यलाई जानकारी गराएको छैन । कम्पनीले आईपीओ गर्ने विषय खाद्यलाई जानकारी नरहेको कार्कीले बताए ।

खाद्यको सञ्चालक सवनम शिवाकोटी ट्रेड टावरले थापाथलीको सम्पत्तिलाई मूल्याङ्कन गरेर आईपीओ जारी गर्न नपाउने बताउँछिन् । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश आचार्यका अनुसार ट्रेड टावर कम्पनीमा रहेको सबै जग्गा खाद्यको हो । ट्रेड टावरले आईपीओ जारी गर्न लागेको विषय खाद्यलाई जानकारी नरहेको उनले बताए । उनका अनुसार बुल्ट अन अपरेटर ट्रान्सफर (बुट) मोडलमा बनाइएको बिल्डिङ हो । ३० वर्षपछि थापाथलीमा भोगचलन गरिरहेको ट्रेड टावरको सबै सम्पत्ति खाद्यको हुन्छ । 

‘ट्रेड टावरले आईपीओ जारी गर्न लागेको विषय खाद्यलाई जानकारी छैन । त्यस्तो चिठ्ठी पत्र केही आएको छैन,’ उनले भने, ‘३० वर्षको लिज अवधिमा वार्षिक भाडा रकम तोकिएको छ । सोही अनुसार खाद्यले भाडा पाइरहेको हुन्छ । ३० वर्षपछि सम्झौता सकिन्छ । त्यसपछि त्यो भवन हामीलाई ह्याण्डओभर गरे छोडेर जानु हुन्छ । ट्रेड टावर जाँदाखेरी खाली हात जाने हो ।’ 

सीईओ आचार्यका अनुसार ट्रेड टावर थापाथलीको भवन देखाएर सर्वसाधारणलाई दिग्भ्रमित गर्नु हुँदैन । किनभने त्यो भवन भोलिका दिनमा खाद्यको नाममा आउने हो । तर, धितोपत्र बोर्डले अध्यन गरेरै अनुमति दिएको हुनुपर्ने उनको विश्वास छ ।

१६ वर्षपछि पनि कारोबार हुन्छ : अध्यक्ष दंगाल 

ट्रेड टावर कम्पनीका अध्यक्ष शिवहरि दंगालका अनुसार ट्रेड टावर लिमिटेड एउटा कम्पनी हो । यसको एउटा प्रोजेक्ट हो थापाथलीको ट्रेड टावर । थापाथलीको एउटा भवन मात्रै हो । यो खाद्य संस्थानको जग्गामा बनाइएको हो । लिज अवधि १६ वर्ष बाँकी छ । हाम्रो अर्काे प्रोजेक्ट गौशालामा सञ्चालित भइरहेको छ, होटल क्रिष्टल पशुपति गौशाला । त्यसको ३१ वर्ष बाँकी छ । तेस्रो प्रोजेक्ट भनेको जर्सिङ पौवामा इको रिसोर्ट बनिरहेको छ । यस्तै, पाँच तारे होटल पनि सञ्चालनमा आउँदैछ इटहरीमा ।

त्यसैले १६ वर्षमा कम्पनी सकिने होइन । यी सबै कम्पनी सतप्रतिशत ट्रेड टावर अन्तर्गत हुन् । धितोपत्र बोर्डमा यिनै कम्पनीलाई उल्लेख गरिएको छ । अधिकांशले ट्रेड टावर भनेपछि थापाथली नै बुझेका छन् । यो बिल्डिङको ब्राण्डिङ ट्रेड टावर भनेर गरिएको हो । जति पनि प्रोजेक्ट आएका छन् ती सबै ट्रेड टावर अन्तर्गत हुन् । यी सेरिजमा आएका प्रोजेक्ट हुन् । 

खाद्यसँगको सम्झौता ३० वर्षसम्म हो । अब १६ वर्ष बाँकी छ । १६ वर्षपछि दोस्रो पक्षले लिन चाह्यो भने पहिलो प्राथमिकता हामीलाई हुनेछ । यदि लिन चाहेन भने फरक विषय हो । १६ वर्षपछि ट्रेड टावर अन्तर्गत रहेका सबै सम्पत्ति खाद्यको नाममा जाने होइन । थापाथलीमा रहेको सम्पत्ति मात्रै खाद्यको नाममा जाने हो । त्यो एउटा मात्र प्रोजेक्ट जाने हो । १६ वर्षपछि लगानीकर्ताको सेयर भ्यालू शून्य हुने भन्ने बुझाइ छ । त्यो हुँदैन । कम्पनी रहिरहन्छ । कम्पनीसँग सिरिज प्रोजेक्ट छन् । होटल क्रिस्टल लगायत अन्य प्रोजेक्ट छुट्ट कम्पनी होइनन् । ती सबै ट्रेड टावर अन्तर्गत हुन् । सबैको एउटै प्यान नम्बर हो, एउटै टयाक्स नम्बर हो । 

यी हुन् कम्पनीका आधारभूत सेयरधनी

कम्पनी ऐन, २०६३ अन्तर्गत २०६३ सालमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएर २०६७ जेठ १७ गते पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । साथै, विसं २०७८ माघ १२ गते नाम परिवर्तनपछि हाल ट्रेड टावर लिमिटेडको नाममा सञ्चालन हुँदै आएको छ ।

कम्पनीमा विभिन्न ५ जना आधारभूत सेयरधनी रहेका छन् । जसमा शिवहरि दंगालको ३०.८८ प्रतिशत अर्थात् १२ लाख ९२ हजार १५७ कित्ता, सुष्मा लम्सालको २३.०९ प्रतिशत अर्थात् ९ लाख ६६ हजार ३६६ कित्ता, सौगात दंगालको ८.७१  प्रतिशत अर्थात् ३ लाख ६४ हजार ४९८ कित्ता, सतिस न्यौपानेको ३.४३ प्रतिशत अर्थात् १ लाख ४३ हजार ३२५ कित्ता र फ्युचर स्टार डिजाइन एण्ड डेभलपर्स प्रालिको ३.८० प्रतिशत अर्थात् १ लाख ५८ हजार ८०५ कित्ता सेयर स्वामित्व छ । 

जसमा शिवहरि दंगाल कम्पनीको अध्यक्ष छन् भने सतिस न्यौपाने, नवराज विष्ट, सुष्मा लम्साल र भरत राज कोइराला सञ्चालक समिति सदस्य छन् । 

के छन् योजना ? 

कम्पनीले देशको ७ वटै प्रदेशमा कम्तिमा एक–एक वटा पर्यटन सम्बन्धी परियोजना विकास गर्ने लक्ष्य राखेको छ । तत्काल नगरकोट र जर्सिङ्गपौवामा इको भिलेज, अर्गानिक फर्म हाउस र एभेञ्चर टुरिज्म परियोजना सुरु गर्ने रणनिति रहेको छ । इटहरीमा स्वदेशी तथा विदेशी पर्यटकहरूका लागी सुविधा सम्पन्न पाँच तारे होटल परियोजनाको विकास गर्ने लक्ष्य रहेको छ ।

यस कम्पनीद्वारा हाल सञ्चालित ट्रेड टावर थापाथली र होटल क्रिष्टल पशुपतिबाट आर्जित नाफाले धार्मिक पर्यटकीय क्षेत्र जनकपुरमा आधुनिक करिब २ हजार जना अट्न सक्ने विवाह मण्डप सहितको सभा हलको निर्माण गर्ने रणनीति रहेको छ ।

स्वदेशी तथा विदेशी संघ संस्था, बैंक, इन्सोरेन्स, नेपाल सरकार तथा व्यक्ति विशेषको समेतको सहभागितामा संयुक्त रुपमा पर्यटन व्यवसाय, पर्यटकीय केबुलकार, तथा अन्य पुर्वाधार निर्माण तथा लिजमा लिई सञ्चालन  गर्ने गराउने साथै सम्बन्धित परामर्शदाताका रूपमा कार्य गर्ने लक्ष्य रहेको छ । कम्पनीले आफ्नो उद्देश्य प्राप्तिका लागि व्यावसायीक रूपमा देखिएको अन्य व्यावसायीक क्षेत्रमा पनि लगानी गर्ने सम्भाव्य रणनीति रहेको छ । 

Share News