काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटोमोबाइल आयातमा २५ प्रतिशत महसुल लगाउने निर्णयपछि युरोपेली अटोमोबाइल कम्पनीहरूले पहिलो त्रैमासिक मुनाफामा तीव्र गिरावट भोगेका छन् । यससँगै धेरै कम्पनीहरूले आगामी वर्षको वित्तीय पूर्वानुमान फिर्ता लिएका छन् ।
ट्रम्पले अप्रिलको सुरुवातमा अमेरिकी बजारमा प्रवेश गर्ने अटोमोबाइलहरूमा उच्च महसुल लगाउने घोषणा गरेका थिए । त्यसको केही दिनमै उनले कार्यकारी आदेशमार्फत अन्य महसुलहरूसँग दोहोरो असर नपरोस् भनेर समायोजन गर्ने प्रयास गरे । उद्योग विश्लेषकहरू यस्तो अनिश्चित व्यापार नीति दीर्घकालीन लगानीका लागि बाधक बनिरहेको बताउँछन् ।
स्टेलान्टिसले फिर्ता गर्यो पूर्वानुमान
जीप, डोज, फिएट, क्राइसलर र प्यूजोजस्ता ब्रान्ड सञ्चालन गर्ने स्टेलान्टिसले महसुलसँग सम्बन्धित अनिश्चितताका कारण आफ्नो २०२५ वर्षको वित्तीय मार्गनिर्देशन फिर्ता लिएको छ । कम्पनीले पहिलो त्रैमासिकमा ३५.८ अर्ब युरो आम्दानी गर्दै गत वर्षको तुलनामा १४ प्रतिशत गिरावट देखाएको छ ।
मर्सिडिजको मुनाफामा भारी गिरावट
जर्मनीको मर्सिडिजले पनि २०२५ को आम्दानी अनुमान हटाएको छ । कम्पनीका अनुसार अहिलेको व्यापारिक अनिश्चितता, महसुल र क्षतिपूर्ति उपायहरूको कारण पूर्ण वर्षको नाफा अनुमान गर्न असम्भव छ ।
फक्सवागनले पनि दबाब महसुस गर्यो
युरोपको सबैभन्दा ठूलो कार निर्माता फक्सवागनले पहिलो त्रैमासिकमा २.९ अर्ब युरो मुनाफा कमायो, जुन अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशत कम हो । कम्पनीले राजनीतिक अनिश्चितता र उत्सर्जन नीतिलाई मुनाफा घट्नुको कारण बताएको छ ।
भोल्भोले १८ अर्ब स्विडिश क्रोनर खर्च कटौती गर्ने
स्विडेनस्थित भोल्भो कार्सले पनि २०२५ र २०२६ दुबै वर्षको वित्तीय मार्गनिर्देशन फिर्ता लिएको छ। चीनको जीली होल्डिङको स्वामित्वमा रहेको कम्पनीले लागत कटौती योजना अन्तर्गत १.८७ अर्ब डलर बराबरको खर्च कटौती गर्ने जनाएको छ ।
पोर्शेले पनि बिक्री अनुमान घटायो
फक्सवागन समूहअन्तर्गतको पोर्शेले २०२५ का लागि बिक्री राजस्वको अनुमान घटाउँदै ३७–३८ अर्ब युरो रहने जनाएको छ । कम्पनीका अनुसार अमेरिकी आयात महसुलको असर आगामी महिनामा अझ देखिनेछ ।
विश्लेषकहरूको चेतावनी
मर्निङस्टारकी विश्लेषक रेल्ला सुस्किनका अनुसार ट्रम्पको पछिल्लो समायोजनले युरोपेली अटो कम्पनीहरूलाई केही राहत दिएको भए पनि दीर्घकालीन निर्णय लिन अझै अन्योल छ । उनले भनिन्, 'जबसम्म महसुल स्थायी हुने वा कति लाग्ने भन्ने स्पष्ट हुँदैन, कम्पनीहरूले दीर्घकालीन लगानी गर्न सक्दैनन् ।'