विद्यालयका कर्मचारी अझै असन्तुष्ट, फेरि आन्दोलन गर्ने चेतावनी


काठमाडौं । एक महिनादेखि सडकमा आन्दोलित शिक्षकहरू घर फर्कन नपाउँदै विद्यालय कर्मचारी फेरि सडकमा जाने भएका छन् । 

बुधबार सरकार र शिक्षकबीच भएको सहमतिमा आपत्ति जनाउँदै आएका कर्मचारीहरू आफूहरूको लडाइँ सरकार र महासंघ विरुद्ध हुने बताएका छन् । 

विद्यालय शिक्षकको मात्र नभइ कर्मचारीको समेत मुद्दा बोकेर आन्दोलन गरेको महासंघलाई कर्मचारी परिषदले सरकारसँग उधारोमा बिकेको आरोप लगाएको छ । यसविरुद्ध विद्यालय कर्मचारी परिषदले आन्दोलन गर्ने भएको हो । 

बुधबार साँझ सरकारसँग गरेको सम्झौताका विषयमा समीक्षा गर्न आयोजित कार्यक्रममा कर्मचारीले आफ्ना माग समावेश नगरेको भन्दै प्रतिशोध व्यक्त गरेका थिए। 

विद्यालय शिक्षक कर्मचारी परिषदका अध्यक्ष गंगाराम तिवारीले आन्दोलन कस्तो खालको गर्ने भन्ने मोडालिटीबारे धारणा बनाइ गर्न आज साँझ ७ बजे घोषणा गर्ने योजना रहेको बताए । 

कर्मचारीहरूले शिक्षक महासंघले सरकारसँग गरेको ९ बुँदे सहमति नमान्ने बताएका छन् । उनीहरू त्यो सहमतिमा कर्मचारीका कुनै पनि माग सम्बोधन नभएको बताउँछन्।

दुई बुँदामा असहमति

विद्यालय कर्मचारी आन्दोलित हुनुको मुख्य कारण दुईवटा मात्र छन् । पहिलो कर्मचारीलाई बिरामीको बिदाको व्यवस्था हुनपर्ने, दोस्रो गएको वर्ष असोजमा शिक्षक संघसँग भएको सम्झौताअनुसार लेखापाल र कर्मचारी संघलाई तलब निश्चित गर्नुपर्ने ।

अध्यक्ष गंगाराम तिवारीका अनुसार २०८० सालको असोजमा विद्यालय कर्मचारी अन्तर्गत श्रेणीविहीन कार्यालय सहयोगीलाई २६ हजार ८२ र अर्को लेखापाललाई ३४ हजार  ९ सय हुनुपर्ने सम्झौता भएको थियो । 

तर, शिक्षकले सरकारसँग गरेको सम्झौतामा यी दुई बुँदा समावेश नहुँदा कर्मचारीहरू आक्रोशित बनेका हुन् । तिवारीले हिजो सहमति हुँदै गर्दा मन्त्रालयमा आपत्ति जनाएपनि शिक्षक महासंघका नेताहरूले नसुनेको बताए । 

उनले शिक्षकले गरेका हरेक आन्दोलनमा कर्मचारीको साथ रहेको बताउँदै आफूहरूलाई प्रयोग गरिएको बताए ।

‘घाम पानी नभन्दै हामी निरन्तर सडकमा गयौं, तर हाम्रा मागलाई महासंघले उपेक्षा ग¥यो, एक महिनासम्म सडकमा उभिन सक्ने हामी हाम्रा दुई माग समावेश नहुँदासम्म एक वर्षसम्म सडकमा उभिन तयार छौं,’ उनले भने ।

कर्मचारी बेकारमा आक्रोशमा आए

नेपाल शिक्षक महासंघले भने शिक्षकसँगै कर्मचारीका माग पनि ९ बुँदामा समावेश भएको दाबी गरेको छ । बुधबार साँझ शिक्षक कर्मचारी सबैका माग सम्बोधन गरी मन्त्रिपरिषदमा पठाइसकेको बताउँदै कर्मचारी त्यत्तिकै आक्रोशित भएको बताएको छ। 

शिक्षक महासंघका महासचिव तुला थापाले कर्मचारी आक्रोशित हुनपर्ने, आन्दोलन नै गर्नुपर्ने कुनै कारण नभएको दाबी गर्छन् । 

'हामीले कर्मचारी, बालबिकास सहजकर्तादेखि राहात अस्थायी सबै शिक्षकको माग ९ बुँदामा राखेर सहमति गरेका छौं,’ उनी भन्छन्, 'अहिले कर्मचारीले भनेको यी दुई बुँदाका लागि भने नयाँ ऐन अनिवार्य भएकाले समावेश नगरिएको हो ।’ 

‘हामीले शिक्षक र कर्मचारी दुवैका मागलाई नौं बुँदामा समेटेका छौं, तर उहाँहरूले कुरै नबुझिकन हामीमाथि एक्कासि आक्रमण गर्न खोज्नुभयो,’ उनले थपे ।  

महासचिव थापाले अहिले ऐन पूरानै भएकाले यी माग पूरा हुन नयाँ ऐन पारित हुनुपर्ने बताउँछन् ।

उनले कर्मचारीका माग पूरा गर्न हदैसम्म प्रयास गरेको जिकिरसमेत गरे ।

Share News