काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी जेठ ७ गतेदेखि टुँडिखेलमा ‘सीप मेला २०८२’ आयोजना गर्ने भएको छ। दोस्रो संस्करणमा प्रवेश गर्न लागेको मेलामार्फत २ हजार ८२ जनालाई सीपमूलक तालिममा सहभागी गराउने लक्ष्य रहेको प्रमुख बालेन्द्र शाह (बालेन) ले बताएका छन् ।
विश्व मजदुर दिवस २०८२ को सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शाहले सिपयुक्त जनशक्ति तयार पार्न सके मात्र सुरक्षित रोजगारी, उत्पादन वृद्धि र आर्थिक समृद्धिमा टेवा पुग्ने बताए ।
महानगरले आर्थिक वर्ष २०८०/८१ बाट सञ्चालनमा ल्याएको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत यो मेला दोस्रो पटक हुन लागेको हो । पहिलो संस्करणमा २ हजार ५ सय ७५ जनाले तालिम लिएका थिए ।
श्रम बजारमा सिपयुक्त जनशक्तिको अभाव र युवाहरूको वैदेशिक रोजगारीतर्फको आकर्षणलाई ध्यानमा राखी देशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले मेलाको निरन्तरता दिइएको हो ।
यस वर्ष १० विधामा ३० विषयमा तालिम हुने र ती विषय उद्योग, श्रम बजार तथा समाजको मागलाई आधार मानेर छनोट गरिएको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले जानकारी दिइन् ।
गत वर्ष तालिमका लागि फारम भरे पनि सहभागी हुन नपाएका, महानगरमा बसोबास गरिरहेका, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति तथा सडक व्यापारमा संलग्न रहेकाहरुलाई तालिममा प्राथमिकता दिइनेछ ।
‘शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग’ जोड्ने रणनीति अनुसार, मेलाबाट प्राप्त सिपले युवालाई रोजगार र स्वरोजगारको अवसर दिने अपेक्षा गरिएको छ ।