शिक्षा केवल ज्ञान हस्तान्तरणको प्रक्रिया होइन, यो सामाजिक, सांस्कृतिक, राजनीतिक र शैक्षिक विकासको मेरुदण्ड हो । शिक्षा राष्ट्रको भविष्य निर्माणको आधार हो र शिक्षा प्रणालीको हृदयभूत अङ्ग शिक्षक हुन् । हालै नेपालमा भएको शिक्षक आन्दोलन यही बोधको गहिरो प्रतिफल हो ।
नेपाल शिक्षक महासङ्घको अगुवाइमा भएको आन्दोलन केवल तलब-सुविधाको मागमा मात्र सीमित थिएन, यसले शिक्षाको गुणस्तर, शिक्षकको गरिमा र राष्ट्र निर्माणमा शिक्षा नीतिको सही दिशा निर्देश खोजेको छ ।
शिक्षक महासङ्घ र आन्दोलनको स्वरूप
शिक्षक महासङ्घ विगत लामो समयदेखि नेपालका शिक्षकहरूको साझा आवाजको रूपमा उभिँदै आएको संस्था हो । यसले शिक्षकमात्र हैन, समग्र शिक्षा प्रणालीको शुद्धीकरण र सुधारको पक्षमा राष्ट्रव्यापी भूमिका खेल्दै आएको छ । आन्दोलनको नेतृत्व गरिरहेका महासङ्घका पदाधिकारीहरूले अत्यन्त संयमित, संवादमुखी र विवेकशील ढङ्गले सरकारसँग सहकार्य गरे र अन्ततः सरकार र महासंघबीच नौ बुँदे सहमति पनि भयो ।
आन्दोलनको स्वरूप हेर्दा यो दाबी गर्न सकिन्छ कि यो सडक संघर्ष मात्र थिएन, यो सङ्घर्षमार्फत संवाद खोज्ने माध्यम हो । राजधानीमा भएको हजारौं शिक्षकहरूको सहभागिता, जिल्ला जिल्लाबाट गरिएको लामो यात्रा, रातदिनको धर्ना, जुलुस, नारा र प्रदर्शन- यी सबैले आन्दोलनको गम्भीरता र वैधता पुष्टि गर्छ ।
शिक्षा र दर्शनः एक सैद्धान्तिक आधार
शिक्षा प्रणालीको मूल्यांकन केवल प्रशासनिक दृष्टिले होइन, दर्शन र समाजशास्त्रीय आधारमा गर्नुपर्छ । युनानी दार्शनिक प्लेटोले शिक्षा भनेको आत्माको निर्देशन हो भनेका थिए । अरस्तु, रूसो, पेस्तालोजी, जान डेवे, फ्रेरेजस्ता शिक्षाविद्हरूले शिक्षालाई मुक्तिको साधन, सामाजिक न्यायको औजार र चेतनाको आधारशीला मानेका छन् ।
नेपालको वर्तमान आन्दोलनमा यी विचारहरूको प्रतिबिम्ब देखिन्छ । जब नीति पश्चगामी बनाइन्छ, तब शिक्षा शासकीय नियन्त्रणको साधन बन्छ, न कि मुक्ति र विकासको आधार । आन्दोलनले यही चेतना फेरि पुनर्र्जीवित गर्न खोजेको हो । शिक्षा राज्यको आदेश होइन, समाजको बौद्धिक सम्पदा हो भन्ने दृष्टिकोण स्थापित गर्ने प्रयास ।
समाज, शिक्षा र राज्यबीचको सम्बन्ध
शिक्षा कुनै पृथक संस्था होइन, यो राज्य, समाज र नागरिकबीचको त्रिकोणात्मक सम्बन्ध हो । शिक्षक समाजका नैतिक संरक्षक हुन्, जसले बालबालिकालाई केवल अकाडेमिक ज्ञान मात्र दिँदैनन, जीवन दर्शन, विवेक र मूल्य पनि सिकाउँछन् ।
तर जब शिक्षकहरू अस्थिर, अपमानित र बहिष्कृत महसुस गर्छन्, त्यो शिक्षा प्रणालीको गम्भीर क्षयको संकेत हो । शिक्षकहरूको निराशा भनेको समाजको सम्भाव्य गुमाउनु हो । आन्दोलनले यही गुमेको सम्बन्धलाई पुनःस्थापना गर्ने प्रयास गरिरहेको छ ।
सडक आन्दोलनको प्रभाव र जनसमर्थन
पछिल्लो समयमा काठमाडौंका सडकहरू हजारौं हजार शिक्षकहरूको नाराले गुञ्जिएको थियो । शिक्षकको अनुहारमा थकान थिएन ।
यद्यपि केही आलोचना पनि आएका थिए– विद्यार्थीको पढाइमा असर, विद्यालय बन्द हुनु, परीक्षामा ढिलाइ । यी सबै चिन्ताहरू स्वाभाविक छन् तर दीर्घकालीन दृष्टिले हेर्दा यो आन्दोलन भविष्यको लागि गरिएको हो- जसले विद्यार्थीको शिक्षालाई गुणस्तरीय, न्यायोचित र प्रेरणादायी बनाउनेछ ।
अन्तर्राष्ट्रिय अभ्यास र सन्देश
शिक्षकका मागहरू कुनै वर्गीय हितको लागि होइन, समग्र शिक्षाको विकास र संस्थागत स्थायीत्वको लागि हुन् । राज्यले शिक्षकलाई केवल कर्मचारीको रूपमा नहेरी, ज्ञान सर्जक, समाज निर्माता र मूल्य–संचारकको रूपमा बुझ्नुपर्ने सन्देश आन्दोलनले दिएको छ ।
फिनल्यान्डमा शिक्षक नीति निर्माणको मूल धुरी हुन्
सिंगापुरले शिक्षकको योग्यता र आत्मसम्मानलाई पहिलो प्राथमिकता दिन्छ
भारतमा राष्ट्रिय शिक्षा नीतिमा शिक्षक संघको राय समावेश गरिएको छ
केन्या, ब्राजिल, चिलीमा पनि शिक्षकले सडकबाटै नीति परिवर्तन गराएका उदाहरण छन् ।
नेपालले पनि शिक्षकको आवाजलाई अन्यायको प्रतिवाद होइन, सुधारको प्रस्तावको रूपमा बुझ्नुपर्छ । यही चेतनाले मात्र शिक्षामा समावेशीता र स्थायीत्व ल्याउन सक्छ ।
निष्कर्ष
शिक्षक आन्दोलन केवल पेशागत आन्दोलन होइन, यो शिक्षा, समाज र राष्ट्रको अन्तरात्माको पुनरावलोकन हो । शिक्षकहरूको चिच्याहट, केवल उनीहरूको अधिकारका लागि होइन, देशका लाखौं विद्यार्थीको भविष्यका लागि हो । शिक्षकको आत्मसम्मान र सहभागिताबिना शिक्षा प्रणाली केवल ढाँचा मात्र हुन्छ, आत्मारहित संरचना ।
राज्य, समाज र हामी सबैले यो आन्दोलनलाई एक अवसरका रूपमा लिनुपर्छ- शिक्षाको मुटु फिर्ता ल्याउने अवसर । शिक्षकको आवाज दबाउनु भनेको चेतनालाई दबाउनु हो । चेतना थला परे राष्ट्रको अस्तित्व पनि मक्किन्छ ।
अब चाहिएको छ- शिक्षकसँग संवाद गर्न, सहकार्य गर्न र शिक्षालाई राष्ट्रको सबैभन्दा बलियो आधार बनाउने दृढता । यही दृढताबाट उदाउँछ भविष्य, जहाँ शिक्षक केवल पढाउने होइन, देश बनाउने हो ।
(लेखक गोर्खाका शिक्षक हुन् )