शिक्षकहरूसँग आजै सहमति भई भोलीदेखि पठनपाठन सुचारु हुने सत्ता गठबन्धनको विश्वास

काठमाडौं । सत्ता गठबन्धनले सरकार र शिक्षकहरूसँग आजै सहमति हुने विश्वास लिएको छ ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकार र शिक्षकहरूबीच आजै सहमति हुने विश्वास व्यक्त गरेका हुन् । 

उनले शिक्षकहरूसँगको वार्ता सकारात्मक तरिकाले अगाडि बढेको बताउँदै आज दिनभरमा सरकार र आन्दोलनरत शिक्षकबीच सहमति हुने बताए ।

उपमहासचिव ज्ञवालीले नेपाल शिक्षक महासङ्घ र सरकारबीच छलफलमा बनेको सहमतिका आधारमा आजै निचोड निस्कने र बिहीवारदेखि सहज रूपमा पठनपाठन सुरु हुने विश्वास लिएको बताए ।

उनले शिक्षकहरूको मागलाई सम्बोधन गर्न सरकारले खेलाँची नगरेको समेत स्पष्ट पारे । 

उपमहासचिव ज्ञवालीले सरकारले सुरुदेखि नै शिक्षकहरूलाई वार्तामा बोलाए पनि शिक्षकहरूले ऐन नलिई नफर्कने अडान लिएका कारणले ढिलाइ भएको जिकिर गरे।

Share News