अब युट्युबले पनि अनलाइन सञ्चार माध्यमको रूपमा कानुनी मान्यता पाउने

काठमाडौं । सरकारले अब युट्युबलाई अनलाइन सञ्चार माध्यमको रूपमा कानुनी मान्यता दिने भएको छ । यसका लागि सरकारले ल्याएको ‘केही नेपाल ऐन संशोधन विधेयक’ मंगलबार प्रतिनिधि सभाबाट पारित भएको हो ।

छापाखाना तथा प्रकाशन ऐन २०४८ को दफा २ मा नयाँ उपदफा थप गरी अनलाइन सञ्चार माध्यमको स्पष्ट परिभाषा गरिएको छ ।

संशोधित परिभाषामा इन्टरनेटमार्फत सन्देशमूलक सामग्री प्रसारण गर्ने सबै प्लेटफर्महरू (जस्तै युट्युब) लाई अनलाइन सञ्चार माध्यम मानिने व्यवस्था गरिएको छ ।

नयाँ उपदफामा भनिएको छ, 'अनलाइन सञ्चारमाध्यम भन्नाले इन्टरनेटको माध्यमबाट संकेत, चिह्न, आवाज, ग्राफिक्स, भिडियो, एनिमेशन तथा मल्टिमिडियाको प्रयोगमार्फत सूचना, समाचार वा विचार प्रसारण गर्ने संस्था वा माध्यम बुझिनुपर्छ ।'

यो विधेयक अघिल्लो सरकारको पालामा कानुन मन्त्री धनराज गुरुङले ल्याएका थिए । अब यो विधेयक राष्ट्रिय सभामा पठाइने, त्यहाँबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण गरी कार्यान्वयनमा ल्याइनेछ ।

Share News