काठमाडौं । कथा-एक, मानवीय सम्बन्धका जटिलताहरूमा आधारित नाटक हाल काठमाडौंको मण्डला थियटरमा मञ्चन भइरहेको छ ।
नवनिर्देशक अनुप न्यौपानेको निर्देशनमा तयार पारिएको यस नाटकले एक जोडीको सम्बन्धमा आउने अन्यौल, त्याग, सम्झौता र बोधको भावनात्मक यात्रालाई चित्रण गरेको छ ।
अनुप न्यौपाने र प्रेम शिलवाल विश्वकर्माले संयुक्त रूपमा लेखेको र दुबैको लेखनमा डेब्यू रहेको कथा-एक ले घनिष्ठ सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गर्छ ।
यस नाटकका सहनिर्देशक मिलन कार्की हुन् ।
नाटकमा बेदना राई, प्रेम शिलवाल विश्वकर्मा, मिलन कार्की, संयोग गुरागाईं, सनम श्रेष्ठ, क्रिस्टिना बस्नेत र अजय कार्कीले अभिनय गरेका छन् ।
साथै नाटकमा सागर खाती कामी र पुरण दियालीले प्रत्यक्ष संगीत प्रस्तुत गरेका छन् भने सुमित्रा पेहिम प्रकाश व्यवस्थापन सम्हालेकी छन् ।
नाटक वैशाख २८ सम्म प्रत्येक दिन (सोमबार बाहेक) बेलुकी ६ः३० बजे मञ्चन हुनेछ । हरेक शुक्रबार र आइतबार दिउँसो ४ः०० बजे तथा शनिबार दिउँसो ३ः०० बजे अतिरिक्त शोहरू हुनेछन् ।