काठमाडौं । ग्याष्ट्रो सेन्टर बुटवल र भारतको बीएलके म्याक्स हस्पिटल दिल्लीको संयुक्त आयोजनामा लुम्बिनी ग्याष्ट्रो एण्ड लिभर अपडेट २०२५ सम्मेलन सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमा–१४ स्थित टाइगर प्यालेसमा आयोजित सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले गरे ।
उद्घाटन समारोहमा बोल्दै मन्त्री सारुले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्र र राज्यबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै चिकित्सकहरूले आफ्नो पेशागत मर्यादा कायम राख्नुपर्ने धारणा व्यक्त गरे । साथै, अनुसन्धान र अन्तर्राष्ट्रिय अनुभवहरूको आदान–प्रदान स्वास्थ्य सेवामा गुणात्मक सुधार ल्याउने उनले बताए ।
सम्मेलनमा लुम्बिनी प्रदेशका १०० भन्दा बढी विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको थियो । चिकित्सकहरूले नवीनतम प्रविधि, अनुभव र अनुसन्धानमा आधारित कार्यपत्रहरू प्रस्तुत गरे ।
बीएलके म्याक्स हस्पिटलका डा. गौरव ब्रोडले कलेजो प्रत्यारोपणसम्बन्धी नवीनतम अनुसन्धान प्रस्तुत गरे । लुम्बिनी प्रादेशिक अस्पतालका डा. नन्दु पाठकले जनावरबाट सर्ने रोग र फोक्सोमा पर्ने असरबारे कार्यपत्र प्रस्तुत गरे ।
त्यस्तै, वरिष्ठ ग्याष्ट्रोलोजिस्ट डा. संदिपराज कुवँरले पेट र इन्डोस्कोपी विधिबारे, डा. शोभित सिंहले रेडियोलोजीको प्रयोग, डा. पुकार थापाले औषधि र रिब्सले कलेजोमा पार्ने असर, डा. मोहन भुसालले जण्डिस र बेहोसीसम्बन्धी समस्या, तथा डा. रविन हमालले एक्यूट प्याङ्क्रियाटाइटिस र समाधानबारे कार्यपत्र प्रस्तुत गरे ।
कार्यक्रममा नेपाल चिकित्सक संघ लुम्बिनी प्रदेशका अध्यक्ष डा. कृष्ण खरेल, लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीका अध्यक्ष डा. विष्णु पौडेल, प्रादेशिक अस्पतालका मेसु डा. ईन्द्र ढकाल लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
ग्याष्ट्रो सेन्टर बुटवलका सञ्चालक तथा कार्यक्रम संयोजक डा. मोहन भुसालका अनुसार यो सम्मेलन रुपन्देही, गुल्मी, पाल्पा, अर्घाखाँची, दाङ, प्युठान, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लाका विशेषज्ञ चिकित्सकहरूको ज्ञान आदान–प्रदानको साझा मञ्च बनेको थियो ।