काठमाडौं । डिजिटल प्रविधिमा निर्भरता बढेसँगै हाम्रो निजी जीवन झनै अनलाइन हुँदै गएको छ । इन्टरनेटमार्फत गरिने कुराकानी, खोजी वा सूचना आदानप्रदान कति सुरक्षित छ भन्ने प्रश्न उठ्न थालेको छ । आफ्ना व्यक्तिगत संवाद तथा विवरणलाई सुरक्षित राख्नका लागि सचेत रहनुपर्ने आवश्यकता झनै तीव्र बनेको छ ।
हालै उद्यमी एलन मस्क र उनको टोलीले विभिन्न अमेरिकी सरकारी निकायमा हस्तक्षेप गरेपछि पत्रकारहरूले संघीय कर्मचारीहरूलाई सिग्नलजस्ता एपमार्फत सम्पर्क गर्न आग्रह गरेका छन् ।
सिग्नल : भरपर्दो र नाफारहित सन्देश एप
सिग्नल एक नाफारहित संस्थाले विकास गरेको सुरक्षित म्यासेजिङ एप हो । यसमा पठाइने सन्देशहरू ‘एन्ड-टु-एन्ड’ इन्क्रिप्ट हुन्छन्, जसले सन्देश पठाउने र पाउने बाहेक अरू कसैले पनि ती पढ्न सक्दैनन् । यो एपले प्रयोगकर्ताको डाटा वा सम्पर्क विवरणसमेत ट्र्याक गर्दैन ।
सामान्य संवाददेखि कानुनी वा संवेदनशील जानकारी आदानप्रदानसम्म सिग्नल सुरक्षित विकल्प बन्न सक्छ ।
आफ्नै उपकरण र नेटवर्क प्रयोग गर्ने
कार्यालयका फोन वा कम्प्युटर प्रयोग गर्दा सबै गतिविधि निगरानीमा पर्न सक्छ । त्यसैले व्यक्तिगत कुरा वा इन्टरनेट खोजी गर्दा आफ्नै मोबाइल, ल्यापटप र डेटा प्रयोग गर्नु उचित हुन्छ । कार्यालयको वाइफाइ प्रयोग गर्दा समेत सावधानी अपनाउनु आवश्यक छ ।
गायब हुने सन्देश : छोटो अवधिका संवादहरूका लागि उपयुक्त
सिग्नल वा ह्वाट्सएपमा रहेको ‘गायब हुने सन्देश’ सुविधा प्रयोग गर्दा सन्देशहरू निर्धारित समयपछि आफै मेटिन्छन् । यसले फोन हराएमा वा अरूको पहुँचमा परे पनि निजी कुराकानी लुकाउन सहयोग गर्छ ।
टोर ब्राउजर : गहिरो गोपनीयताको विकल्प
भीपीएनले केही गोपनीयता प्रदान गरे पनि सेवा प्रदायकले तपाईंको इन्टरनेट गतिविधि ट्र्याक गर्न सक्छ । त्यसको सट्टा टोर ब्राउजर प्रयोग गर्दा तपाईंको ट्राफिक विश्वभरका नोडमार्फत घुम्ने भएकाले तपाईंको वास्तविक स्थान र परिचय लुकाउन सहज हुन्छ । टोर ब्राउजरले वेबसाइटहरूलाई तपाईंको आईपी ठेगाना देख्न दिँदैन ।
थप सावधानी
कतिपय कम्पनीले सन्देशमा पानीको छाप (वाटरमार्क) वा भिन्न संस्करण पठाउने प्रविधि प्रयोग गर्छन्, जसबाट स्रोत पहिचान गर्न सकिन्छ ।
प्रिन्टर डट्समार्फत कागजात कहिले र कहाँ छापिएको हो भनेर पनि थाहा पाउन सकिन्छ ।
गोपनीयता सम्झौताको उल्लंघनले कानुनी झमेलामा पार्न सक्छ, त्यसैले सूचना बाँड्नुअघि सोचविचार गर्न जरुरी हुन्छ ।
नागरिक अधिकारकर्मी ड्यानियल कान गिलमर भन्छन्, 'हाम्रो गोपनीयताको रक्षा सामूहिक प्रयास हो । चाहे तत्काल उपयोग नहोस्, तर यी सावधानीहरू अभ्यासमा ल्याउनु भविष्यका लागि सजगता हो ।'
– एजेन्सी