काठमाडौं । उच्च रक्तचाप (बीपी) नियन्त्रणमा राख्न चाहनेहरूका लागि हरेक दिन एउटा केरा खानु उपयोगी हुने देखिएको छ । पोटासियमयुक्त केरा उच्च रक्तचाप नियन्त्रण गर्न प्राकृतिक उपायका रूपमा फाइदाजनक मानिन्छ ।
विशेषज्ञहरूका अनुसार केरामा पाइने पोटासियमले शरीरमा सोडियमको असरलाई घटाउने र रक्तनलीमा हुने दबाब कम गर्ने काम गर्छ । अमेरिकन हार्ट एसोसिएसन र अमेरिकन जर्नल अफ फिजियोलोजी (रिनल फिजियोलोजी) मा प्रकाशित अध्ययनले पनि यसलाई पुष्टि गरेको छ ।
एक मध्यम आकारको केरामा करिब ४२२ मिलिग्राम पोटासियम हुन्छ, जुन दैनिक आवश्यकताको करिब १० प्रतिशत बराबर हो । अध्ययन अनुसार पोटासियमको अधिक सेवनले नुनको मात्रा घटाउनु भन्दा पनि बीपी नियन्त्रणमा अझ प्रभावकारी भूमिका खेल्छ ।
केरा खाने सही समय
विज्ञहरूका अनुसार केरा बिहान वा बेलुकाको समयमा सन्तुलित नास्ताको हिस्सा बनाएर खान उपयुक्त हुन्छ । खाली पेट केरा खानु उपयुक्त मानिँदैन । रातमा पनि केरा खान सकिन्छ, जसले सुत्ने चक्रलाई सन्तुलित बनाउन मद्दत गर्छ ।
केरा सेवनका अन्य फाइदाहरू
पाचन प्रणालीका लागि लाभदायक फाइबरको स्रोत
प्रतिरोधी क्षमता (इम्युनिटी) बलियो बनाउने
मेटाबोलिज्म बढाएर तौल घटाउन सहयोग गर्ने
मुटु, मिर्गौला, स्नायु र मांसपेशीको कार्य सञ्चालनमा पोटासियमले भूमिका खेल्ने
शरीरलाई ऊर्जावान राख्ने
विशेषज्ञहरूले उच्च रक्तचाप भएका व्यक्तिहरूलाई औषधीसँगै यस्तो प्राकृतिक उपाय पनि अपनाउन सल्लाह दिएका छन् । तथापि, व्यक्तिगत स्वास्थ्य अवस्थाका आधारमा चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ । एजेन्सी