भीआईपी नेतासँगको छलफलले माग सम्बोधन हुने विश्वासमा शिक्षक, वार्ताले परिणाम दिने संकेत

फाइल तस्बिर

काठमाडौं । सरकार पक्ष र शिक्षकहरूबीच फेरि वार्ता भएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवासमा भएको करिब ३ घण्टा छलफलले सरकार र शिक्षकबीचको वार्ता सहमति नजिक पुगेको हो । 

सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनरत शिक्षकहरूसँगको वार्ता सकारात्मक भएको बताए । मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग बालुवाटारमा बोल्दै मन्त्री गुरुङले शिक्षामन्त्रीले महासंघका अध्यक्ष, उपाध्यक्ष र महासचिवसँग गरेको वार्ता सकारात्मक भएको जानकारी दिएका हुन् ।

उनका अनुसार दुई/तीन दिनभित्र शिक्षकहरूका मागबारे सहमति भई विद्यालय सञ्चालनको वातावरण बन्ने अपेक्षा गरिएको धारणा राखे ।

मन्त्रिपरिषदको बैठक बस्नुअघि सरकारका तीन मन्त्रीहरू अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्त वार्तामा बसेका थिए । 

यस्तै, एमाले महासचिव शंकर पोखरेलसँगै कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेपाल शिक्षक महासंघका पदाधिकारीहरूसँग आन्दोलन र मागका बारेमा छलफल गरेको बुझिएको छ । शीर्ष नेताहरूसँगको वार्ताले माग पूरा हुने विश्वास शिक्षकहरूले गरेका छन् । 

तत्कालीन शिक्षामन्त्री भट्टराईको ७ बुँदे प्रस्ताव अनुसार सहमति हुने बुझिएको छ । शिक्षक महासंघले मन्त्रिपरिषदबाट पारित गर्ने विषय भनेर ९ बुँदे माग प्रस्ताव गरेको छ । उक्त ९ बुँदे प्रस्ताव वरिपरि मन्त्रिपरिषदबाट शिक्षकका आंशिक मागहरू सम्बोधन भए महासंघले आन्दोलनको स्वरूप फेर्न सकिने जनाउँदै आएको छ । 

Share News