काठमाडौं । नेपाली खेलकुद विकासको मेरुदण्ड मानिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मन्त्री र राजनीतिक स्वार्थका कारण अन्योलमा परेको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यबीचको राजनीतिक चलखेलले दशौं राष्ट्रिय खेलकुद आयोजनामा अड्चन आएको हो ।
सन् २०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुद नियमित अन्तरालमा आयोजना हुने लक्ष्य भए पनि राजनीतिक हस्तक्षेप र स्वार्थका कारण हालसम्म मात्र नौ संस्करण सम्पन्न भएका छन् । दशौं संस्करण गत मंसिरमै कर्णाली प्रदेशमा हुनुपर्ने भए पनि मन्त्री चौधरीको असक्षमताका कारण हालसम्म पनि आयोजना हुन सकेको छैन ।
गत चैत २८ गते बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड बैठकले बिना पर्याप्त आधार दशौं राष्ट्रिय खेलकुद स्थगन गर्ने निर्णय गरेको थियो । बोर्डका बहुमत सदस्यले असहमति जनाए पनि मन्त्री चौधरीले कार्यक्रम रोक्ने निर्णय लिएका थिए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले बजेट सुनिश्चित भइसकेको अवस्थामा आयोजनामा अनावश्यक अवरोध ल्याउनु दुर्भाग्यपूर्ण भएको बताए । उनले केही सीमित व्यक्तिको स्वार्थले राष्ट्रिय खेलकुद अन्योलमा परेको र यसले खेलाडी पलायनलाई प्रोत्साहन गर्ने चेतावनी दिए ।
यसैबीच, संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पटक-पटक समयमै प्रतियोगिता सम्पन्न गर्न निर्देशन दिएको भए पनि मन्त्री चौधरीले कुनै ठोस कारणबिना खेलकुद स्थगन गरेका छन् । मन्त्री चौधरीले राष्ट्रिय खेलकुद स्थगनबारे प्रश्न गर्दा उपाध्यक्ष आचार्यको अनुगमन प्रतिवेदन र कर्णाली प्रदेशका मुख्यमन्त्रीको असहमतिको हवाला दिएका छन् ।
खेलकुद व्यवस्थापनको तयारी पूरा भइसकेको अवस्थामा बजेट विनियोजन, खेलाडी छनोट प्रक्रिया र समाग्री व्यवस्थापन पनि टुंगोमा पुगेको थियो । तर, मन्त्री चौधरीको नेतृत्वमा भएको निर्णयले राष्ट्रिय खेलकुद प्रतियोगितालाई गम्भीर संकटमा पारेको छ ।
पूर्वखेलाडी तथा प्रशिक्षक अञ्जन धमलाले मन्त्री चौधरीलाई नैराश्यता फैलाउने र खेलकुद विकासमा बाधा पुर्याउने आरोप लगाउँदै राजीनामाको माग गरेका छन् ।
यसैबीच, मन्त्री चौधरी र उपाध्यक्ष आचार्यको भूमिका र निर्णयमाथि चौतर्फी आलोचना भइरहेको छ । खेलकुद क्षेत्रका जानकारहरूले अब तत्काल स्पष्ट योजना ल्याई राष्ट्रिय खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न नगरे विकास र खेलाडीहरूको भविष्यमा गम्भीर क्षति पुग्ने चेतावनी दिएका छन् ।