काठमाडौं । नेपालको लघुचलचित्र ‘द स्कुल वाल’ ले भारतको इन्टरनेशनल स्टार सिने अवार्डमा तीन विधामा अवार्ड जित्न सफल भएको छ ।
वन्ली फिल्म फेस्टिभलको आयोजनामा सम्पन्न उक्त महोत्सवमा ‘द स्कुल वाल’ ले बेष्ट सर्ट फिल्म, बेष्ट स्टोरी ओरिजिनल र बेष्ट डिरेक्टर जुरी मेन्सन अवार्ड हात पारेको हो ।
ऐना आट्र्सको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्रको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । सुरेन्द्र क्षेत्रीले कास्टिङ डाइरेक्शनसँगै निर्माण जिम्मेवारी सम्हालेका छन् ।
‘द स्कुल वाल’ ले यसअघि पनि रसियाको किनो फिल्म फेस्टिभल, नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल, नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल, र ग्लोबल एक्सिलेन्स अवार्डमा विभिन्न विधामा अवार्ड जितिसकेको छ ।
फिल्ममा गरिबी, जिम्मेवारी र परिस्थितिले बाँधिएका एक बालकको संघर्षको कथा प्रस्तुत गरिएको छ । श्लोक साहले मुख्य भूमिका निर्वाह गरेको चलचित्रमा सुवास प्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्र प्रसाद पाण्डे, गीता थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
‘द स्कुल वाल’ अमेरिका, नाइजेरिया, इरान, इटाली, इजिप्ट, ब्राजिल, मलेसिया, कोरिया, बेलायत लगायतका देशका प्रतिष्ठित फिल्म फेस्टिभलहरूमा पनि छनोट भइसकेको छ ।
नेपालमा इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ), नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) लगायतका महोत्सवहरूमा समेत यो फिल्मले आफ्नो उपस्थिति जनाइसकेको छ ।
बजार व्यवस्थापक लर्निङ मिडिया एण्ड इभेन्ट प्रालिका अनुसार विद्यालयहरूमा प्रदर्शन भइरहेको फिल्मले शिक्षक र विद्यार्थीहरूबाट सकारात्मक प्रतिक्रिया पाएको छ । विद्यालयहरूबाट फिल्म प्रदर्शनको माग समेत बढिरहेको जनाएको छ ।