काठमाडौं । शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलनलाई थप चर्काउने भएका छन् । हिजो भएको झडपपछि आक्रोशित शिक्षकहरूले आज आन्दोलन थप चर्काउने बताएका छन् ।
आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने बताएको हो । संघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शान्तिपूर्ण आन्दोलन गर्दा शिक्षकहरूमाथि दमन गरेको भन्दै घरमा बसेका शिक्षकहरूलाई काठमाडौं आउन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष सुवेदीले शिक्षक कर्मचारी माथि भएको दमनको विरोधमा आफूहरूसँग उभिन सबै पेसागत संस्था, आम शिक्षा सरोकार समूह तथा आम नेपालीलाई अपिल समेत गरेका छन् ।
महासंघले विज्ञप्तिमा जारी गर्दै नेपाली शिक्षक-कर्मचारीहरू अग्रगामी विद्यालय शिक्षा ऐन बिना आफ्नो कार्यक्षेत्रमा नफर्कने भन्दै देशभरका सबै शिक्षक-कर्मचारीलाई अनिवार्य काठमाडौँ आउन अपिल गरेको छ ।