इम्बार्क रिसर्च रिभ्यु सार्वजनिक, दिगोपन र आर्थिक समावेशीकरणमा नीतिगत बहस

ललितपुर । इम्बार्क कलेजको इम्बार्क रिसर्च नेटवर्कले दिगोपन र आर्थिक समावेशीकरणका विषयमा आधारित पुस्तक ‘इम्बार्क रिसर्च रिभ्यु - दिगो नेपालको बाटो : दिगोपन र आर्थिक समावेशीकरणमा नेपालका नीतिगत चुनौतीहरू’ सार्वजनिक गरेको छ ।

आइतबार आयोजित कार्यक्रममा प्रमुख अतिथि रोहम्प्टन विश्वविद्यालयका उपकुलपति प्रा. डा. जीन नोएल एजिन्गार्डले पुस्तक विमोचन गरे । कार्यक्रममा प्रदेश सरकार, नेपाल सरकार, निजी क्षेत्र तथा शिक्षाविद्हरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत आशिष ठाकुरले गर्दै कलेजको शिक्षा र अनुसन्धानमार्फत दिगो नेपालको निर्माणमा प्रतिबद्धता व्यक्त गरे । युनिभर्सिटी अफ रोहम्प्टनसँगको सहकार्यबाट नयाँ नीति र कार्यक्रमहरूको विकास भएको उनले बताए ।

प्रमुख अतिथि प्रा. डा. जीन नोएल एजिन्गार्डले अन्तर्राष्ट्रिय साझेदारीमार्फत मात्रै वित्तीय समावेशीकरण र स्थिरताका चुनौतीहरू समाधान गर्न सकिने बताए ।

कार्यक्रममा वरिष्ठ अर्थशास्त्री प्रा. डा. विश्वम्भर प्याकुरेल र काठमाडौं फिनटेकका संस्थापक डा. सन्जिब सुब्बाले डिजिटल प्रविधि र नवप्रवर्तनमार्फत वित्तीय पहुँच विस्तारमा आवश्यक सुधारहरूबारे बहस गरे । सत्रको सञ्चालन कलेजका प्रिन्सिपल डा. स्टिफन ड्राइभरले गरे ।

समापनमा प्रिन्सिपल डा. ड्राइभरले शिक्षा, अनुसन्धान र नीति निर्माणबीचको सहकार्यले मात्रै दिगो विकास सम्भव हुने भन्दै साझा प्रयासको आवश्यकतामा जोड दिए ।

कार्यक्रममा पुस्तकमा समावेश नेपालका विभिन्न व्यवसायमा आधारित एघार उत्कृष्ट केस स्टडीका अनुसन्धानकर्तालाई प्रमाणपत्र वितरण पनि गरिएको थियो ।

इम्बार्क कलेजले युनिभर्सिटी अफ रोहम्प्टनसँगको सहकार्यमा सञ्चालन गर्दै आएको बीएस्सी बिजनेस म्यानेजमेन्ट र एमबीए कार्यक्रममार्फत अनुसन्धान र नीति निर्माणलाई समेटेर दिगो आर्थिक विकासमा योगदान गरिरहेको जनाएको छ ।

Share News