शिक्षा विधेयकका ३६ वटा दफामा सहमति हुन बाँकीः सांसद विश्वकर्मा

काठमाडौं । नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले विद्यालय शिक्षा विधेयकका १६३ वटा दफामध्ये १२७ वटा दफाहरूमा सहमति भइसकेको बताएका छन् ।

आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले १६३ वटा दफामध्ये १२७ वटा दफाहरूको टुंगो लागिसकेको र बाँकी दफाहरू छिट्टै टुंग्याउने उल्लेख गरे ।

सांसद विश्वकर्माले विद्यालय शिक्षा विधेयकलाई छिटो पारित गर्नेगरी काम भइरहेको र शिक्षा, सञ्चार तथा सूचना प्रविधि समितिले दिएको ३५ दिनको समय सीमाभित्र रहेर नै उपसमितिले काम सक्ने दाबी गरे । 

उनले भने, ‘हामीले विद्यालय शिक्षा विधेयकमा गम्भीर ढंगले समीक्षा गरेका छौं । संशोधनकर्ता माननीय सदस्यज्यूहरूको संशोधनलाई पनि हेरेका छौं । योसँग सम्बन्धित रहेर हामीले सातै प्रदेशमा राय सुझाव प्राप्त गर्ने काम गरेका छौं । शिक्षा विधेयकसँग सम्बन्धित रहेको मामलाका सुझाव लिएका छौं । १६३ वटा दफामध्ये १२७ वटा दफाहरूको टुंगो गरेका छौं । केही दफामा थप छलफल गर्दै निष्कर्षमा पुग्न दृढ संकल्पित छौं । ३५ दिनभित्रमा काम सम्पन्न गरेर समितिमा बुझाउँछौं । अन्तिम तयारीमा छौं ।’

उनले तत्काल सम्बोधन गर्नसक्ने कुरामा सरकारलाई तयार बनाउन र आन्दोलन रोकेर वार्तामा आउन शिक्षकहरूसँग आग्रह पनि गरे ।

Share News