काठमाडौं महानगरमा आज शोक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले पञ्चायतकालका पूर्वउपप्रमुख तीर्थराम डंगोलको निधनमा आज शोक बिदा दिएको छ । महानगरले सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेकका सबै कार्यालय बन्द गरिएको जनाएको हो ।

नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्य राज्यमन्त्री समेत रहेका डंगोलको शुक्रबार राति ७७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । लामो समयदेखि प्रोष्टेट क्यान्सर र मिर्गौलासम्बन्धी समस्याबाट ग्रसित डंगोलको शनिबार नेवारी परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।

डंगोल विसं २०५६ र २०६५ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । साथै, उनले विसं २०६२–६३ को जनआन्दोलनमा काठमाडौं क्षेत्रको नेतृत्वसमेत गरेका थिए ।

Share News