काठमाडौं । शनिबार बिहान नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको छलफल उपलब्धिमूलक नरहेको बुझिएको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तको उपस्थितिमा भएको वार्ता निश्कर्षविहीन भएको हो ।
मन्त्रालयमा शिक्षा सचिव दीपक काफ्ले, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलनकी संयोजक नानुमाया पराजुली र महासचिव तुलाबहादुर थापा शिक्षामन्त्रीसँग छलफलमा बसेका थिए ।
शिक्षकहरुले आफ्ना सबै मागहरुमा अडिक बन्दा सहमति हुन नसकेको बुझिएको छ । शुक्रबार शिक्षामन्त्रीले बोलाएको बैठकमा प्राविधिक कारण देखाउँदै महासंघ बैठकमा सहभागी भएको थिएन ।
महासंघले चैत २० गतेदेखि जारी शिक्षकहरुको आन्दोलनलाई आज पनि निरन्तरता दिने बताएको छ । दुवै पक्षबीच छलफल पनि अगाडि बढाउने र आन्दोलन पनि जारी राख्ने सहमति भएको छ ।