काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सम्पदा संरक्षणमा राजनीति नगर्न आग्रह गरेकी छन् ।
शुक्रबार काठमाडौं उपत्यका विश्व सम्पदा क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय वैज्ञानिक समितिको तेस्रो वार्षिक बैठकलाई सम्बोधन गर्दै उनले नेपाली सम्पदामा विदेशी राजनीतिक प्रभावभन्दा नेपाली स्वामित्व र सहभागिता हुनुपर्नेमा जोड दिइन् ।
उनले भनिन्, 'सम्पदा क्षेत्रभित्र जियो पोलिटिक्स होइन, हाम्रो सहभागीता हुनुपर्छ । हामीले गर्व गर्ने ठाउँ हुनुपर्छ । यो नेपालीले बनाएको हो भन्ने उदाहरण बन्नुपर्छ ।'
उपप्रमुख डंगोलले सम्पदा पुनःनिर्माणका लागि महानगर वा सरकार जे–जसको लगानी भए पनि कार्यान्वयनमा नेपालीकै श्रम, सीप र संकल्प हुनुपर्ने बताइन् ।
उनले पुनःनिर्माणमा सस्तो टेन्डर प्रवृत्तिका कारण गुणस्तरीय सम्पदा संरक्षित राख्न कठिन भइरहेको पनि उल्लेख गरिन् । 'हाम्रो सम्पदा संरक्षणको प्रयास सस्तो ठेक्काको कारण विफल नहोस्,' उनले भनिन् ।
महानगरले सम्पदामा नेपाली पहिचान झल्किने र दीगो संरचना विकासमा जोड दिइरहेको उपप्रमुख डंगोलले जानकारी दिइन् ।