काठमाडौं । काठमाडौं उपत्यकाका वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर अस्पतालले ओपीडी सेवा बन्द गरेका छन् । निजी मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई तोकिएको निर्वाहभत्ता नदिएको भन्दै उनीहरूको समर्थनमा सरकारी चिकित्सकहरूले आकस्मिक र सघन उपचार बाहेकका सबै सेवा ठप्प पारेका हुन् ।
अस्पतालमा चिकित्सक नआउँदा ओपीडी सेवा बन्द गर्नुपर्ने अवस्था आएको वीर अस्पतालका सूचना अधिकारी सीताराम खड्काले जानकारी दिए ।
ओपीडी सेवा बन्द भएसँगै सयौं बिरामी अलपत्र परेका छन् ।
शुक्रबार बिहान अनलाइनबाट टिकट काटेका ६० जना र अन्य बिरामी गरी केही व्यक्तिलाई सेवा दिए पनि १० बजेपछि पूर्णरूपमा सेवा बन्द भएको सूचना अधिकारी खड्काले बताए ।
उनी भन्छन्, ‘चिकित्सक आन्दोलनमा जानुभयो, उहाँहरू बाहेक अरूले सेवा दिन सक्ने कुरा भएन । चिकित्सक नहुँदा बिरामीले सेवा लिन सक्नुभएको छैन ।’
सूचना अधिकारी खड्काका अनुसार आज ओपीडी सेवा बन्द हुँदा २ हजार बढी सेवाग्राही प्रभावित भएका छन् । वीर अस्पतालमा दैनिक २ हजार ४ सयदेखि २ हजार ८ सय बिरामी उपचारको लागि पुग्ने गर्छन् ।
वीर अस्पतालसँगै जोडिएको ट्रमा सेन्टरमा पनि ओपीडी बन्द छ । चिकित्सकहरू ओपीडीमा नबस्दा आज ओपीडीको टिकट नै बन्द गरिएको अस्पतालले जनाएको छ । ट्रमा अस्पतालमा दैनिक तीन सयदेखि ४ सय बिरामी उपचारका लागि आउने गर्छन् । अस्पतालको ओपीडी सेवा बन्द हुँदा बिरामी फर्केर जानुपरेको छ ।
बन्दको प्रभाव त्रिवि शिक्षण अस्पतालमा पनि परेको छ । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले पूर्णरूपमा अस्पताल बन्द नभए पनि असर परेको बताए ।
‘धेरै बिरामीहरू आज बन्द हुने थाहा भएरै आउनु भएन आएका कतिपयको उपचार पनि भइरहेको छ तर, कतिपय भने फर्केर गइरहनुभएको छ,’ उनले भने ।
आज नै जोरपाटीमा रहेको नेपाल मेडिकल कलेजमा टिकट काट्ने ठाउँमै चिकित्सकहरूले धर्ना दिएका छन् । आवासीय चिकित्सकहरूले टिकट काउण्टरमै धर्ना सुरु गर्दा अस्पताल प्रशासन र चिकित्सकबीच भनाभनको अवस्था समेत सिर्जना भएको थियो ।
पटकपटक अस्पताललाई भत्ताको लागि दबाब दिन धर्ना बसेका चिकित्सकहरूका सुनुवाइ नभएपछि बाध्य भएर सेवा नै ठप्प पार्नु परेको आवासीय चिकित्सकहरूको दुखेसो छ ।
अन्य निजी अस्पतालहरूमा भने बन्दको प्रभाव खासै परेको छैन । ह्याम्स अस्पतालले आफ्नो अस्पतालबाट सबै सेवा निर्वाध रूपमा सुरु रहेको जनाएको छ । उता कान्ति अस्पतालमा भने बन्दको कुनै प्रभाव परेको छैन ।
चिकित्सकहरू काम छोडेर आन्दोलनमा जाँदा बिरामीहरूलाई भने सास्ती भएको छ । टाढा टाढाबाट उपचारका लागि वीर, टिचिङ र ट्रमामा पुगेका बिरामीहरू सेवा नपाएर फर्कनुपरेको छ ।
निजी मेडिकलको अटेरी
निजी मेडिकल कलेजमा अध्ययन गर्दै काम गर्ने आवासीय चिकित्सकहरूले सेवा सुविधा बढाउनुपर्ने माग गरेको लामो समय भयो । पटकपटक आन्दोलन गर्दा गएको माघमा बल्ल सरकारले उनीहरूको आवाज सुन्यो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पीजीको निर्वाहभत्ता बढाउन चिकित्सा शिक्षा आयोगलाई आग्रह गरे । ओलीको आग्रहपछि चिकित्सा शिक्षा आयोगले रेसिडेन्टहरूको माग बमोजिम सरकारी ८ औं तहको अधिकृत सरह ४८ हजार ७ सय ३७ रुपैयाँ दिनु भनी निजी मेडिकल कलेजलाई परिपत्र गर्यो ।
तर निजी कलेजले अटेरी गर्दै भत्ता नदिएपछि चिकित्सकहरू आन्दोलित भएका हुन् । चिकित्सहरूको मागमा समर्थन जनाउँदै नेपाल चिकित्सक संघले देशभरका सरकारी र निजी अस्पताल बन्द गर्ने चेतावनी दिएको थियो । सोही योजना अनुसार वीर र ट्रमा अस्पतालले आकस्मिकबाहेकका सेवा ठप्प पारेका हुन्।
आन्दोलनमा जान रहर छैन
चिकित्सकहरू भने काम छोडेर आन्दोलनमा जान कुनै रहर नभएको बताउँछन् । आवासीय चिकित्सक छवि पन्थी यो बन्दले परेको असरबाट बिरामीप्रति क्षमा माग्दै छिट्टै काममा फर्किने वातावरण मिलाइदिनसरकारसँग आग्रह गरेका छन् ।
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक शेषराज घिमिरेले आवासीय चिकित्सकलाई सरकारी चिकित्सकको पनि समर्थन रहेको बताए ।
‘अहिले सरकारी र आवासीय सबै चिकित्सक माइतीघर मण्डलामा भेला भएका छौं,’ उनी भन्छन्, ‘यो टन्टलापुर घाममा काम छोडेर बस्न रहर होइन, हामीलाई सरकार र निजी मेडिकलका मालिकहरूले बाध्य बनाएको हो ।’
अटेरी मेडिकल कलेज, मुकदर्शक सरकार