काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र नेपालमा दर्ता नभए मेटामाथि प्रतिबन्ध लगाइने चेतावनी दिएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मेटालाई पटक–पटक सूचना दिँदासमेत बेवास्ता गरिएको बताए ।
उनका अनुसार मेटालाई पहिलो, दोस्रो र तेस्रो पटक सूचना जारी गरिएको थियो र तेस्रो पटकको म्याद केही दिनअघि सकिएको हो । अब बाँकी ७ दिनभित्र दर्ता नभए मेटा अन्तर्गतका फेसबुक, इन्स्टाग्राम, म्यासेन्जर, ह्वाट्सएपजस्ता सेवामा प्रतिबन्ध लगाइने चेतावनी मन्त्री गुरुङले दिए ।
मन्त्री गुरुङले भने, 'नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गइरहेको छ । त्यसरी नेपालबाट पैसा लिने तर दर्ता नहुने र कर नतिर्ने ? यस्तो हुँदैन । देशभन्दा ठूलो घमण्ड देखाउनु हुँदैन । नेपालको जिडिपीभन्दा आफू ठूलो छ भनेर स्वाधीनता सस्तोमा बेचिन्न ।'
उनले मेटाले नेपालमा दर्ता भएर कर तिर्नु आवश्यक रहेको स्पष्ट पारे । साथै, हालसम्म नेपालमा टिकटक, भाइबर र वी–टक मात्र दर्ता भएको जानकारी पनि दिएका छन् ।
मुलुकको स्वाधीनता पैसा वा प्रविधिभन्दा माथि रहेको उल्लेख गर्दै मन्त्री गुरुङले सूचना प्रविधिमा पारदर्शिता र उत्तरदायित्व आवश्यक भएकोमा जोड दिएका छन् ।