काठमाडौं । चीनमा विदेशी अटोमोकरहरूले यस वर्षको शाङ्घाई अटो शोमा एक गम्भीर चुनौतीको सामना गरिरहेका छन्- घरेलु कम्पनीहरूले आकर्षक, सस्तो विद्युतीय सवारी (ईभी) तीव्र गतिमा उत्पादन गरिरहँदा चिनियाँ ग्राहकहरूको विश्वास पुनः जित्ने ।
विश्वका ठूला अटोमेकरहरूले विगत केही वर्षहरूमा आफ्नो बजार हिस्सेदारी क्रमशः गुमाइरहेका छन्, किनकि चिनियाँ ब्रान्डहरूको बिक्री उच्च भइरहेको छ । अघिल्ला ब्रान्डहरूको मूल्य घट्दै जानु अहिले सस्तो र मध्यवर्गीय सवारी साधनहरूबाट सुरु भएर लक्जरी अटोमेकरहरूमा फैलिएको छ, जसले अब उन्नत ईभी प्रविधि र अत्याधुनिक सुविधाहरूमा चिनियाँ प्रतिस्पर्धीहरूसँग मेल खान संघर्ष गरिरहेका छन् ।
जर्मनीको पोर्शे- दशकौंदेखि विश्वकै शक्तिशाली प्रिमियम ब्रान्डहरूमध्ये एक- अहिले चीनमा विदेशी अटोमेकरहरूको पतनको प्रतीक बनेको छ । देशमा यसको बिक्री पहिलो त्रैमासिकमा ४२ प्रतिशतले घट्यो, जुन विगतका गिरावटहरूको निरन्तरता हो ।
केवल चार वर्षअघि पोर्शले चीनमा ९५ हजार ६७१ गाडी बेचेर कीर्तिमान राखेको थियो- जुन २०२१ को कुल विश्वव्यापी बिक्रीको झण्डै एक तिहाइ थियो ।
फक्सवागन समूहअन्तर्गतका अन्य ब्रान्डहरू जस्तै भीडब्ल्यू र अडीले शाङ्घाई शोमा पाँच नयाँ ईभी मोडल प्रदर्शन गरे पनि पोर्शे आफ्ना इन्धनमा चल्ने गाडीहरूको परम्परामा केन्द्रित भयो ।
कम्पनीले ९११ मोडेलका दुई सीमित संस्करणहरू सार्वजनिक गर्यो, जुन प्रख्यात स्पोर्ट्स कारका पुराना मोडेलहरूबीच राखिएको थियो । एउटा बोर्डमा लेखिएको थियो- 'यसको विकल्प छैन' ।
तर चिनियाँ ग्राहकहरूलाई यो चित्त बुझ्दैन । उनीहरू सस्तो र भविष्यमुखी लक्जरी सवारीहरू घरेलु ब्रान्डहरू- जस्तै बीवाईडीको याङ्वाङ ब्रान्ड र साओमीबाट खरिद गरिरहेका छन् । साओमीले हालै कार उद्योगमा प्रवेश गरे पनि यसको पहिलो सवारी एसयू सेभेन स्पोर्ट सेडानले पोर्शेजस्तै डिजाइन र निकै कम मूल्यमा ठूलो चर्चा पायो ।

फेब्रुअरीमा साओमीले १ हजार ५४८ हर्सपावरको एसयू सेभेन अल्ट्रा सार्वजनिक गर्दा मूल्य ५ लाख २९ हजार ९०० युआन (झण्डै ७२ हजार ५९१ डलर) थियो र दुई घण्टामै १० हजार अर्डर आएको दाबी गर्यो- जुन संख्या चीनमा पोर्शेका सबै मोडलहरूको पहिलो त्रैमासिक बिक्रीभन्दा बढी हो । चीनमा सबैभन्दा सस्तो पोर्शे ९११ को मूल्य १.४६८ मिलियन युआन (झण्डै २ लाख १ हजार १७० डलर) छ, जसमा ३९४ हर्सपावर हुन्छ ।
सीनो अटो इनसाइजका संस्थापक तू ली भन्छन्, 'चीनमा पोर्शे सकियो ।'
विदेशी अटोमोकरहरू चीनमा बिक्री गुमाइरहेका छन् र पोर्शेमात्र यो अवस्थामा छैन । यद्यपि धेरैजसो चिनियाँ प्रतिस्पर्धीहरू अझै नाफामा पुगेका छैनन् ।
'विदेशी अटोमोकरहरूले चुनौती बुझेका छन्,' शाङ्घाईस्थित अटोमोटिभ फोरसाइजका प्रबन्ध निर्देशक यु झाङ भन्छन्, 'तर तिनीहरू अझै समाधानतर्फ पर्याप्त छिटो बढिरहेका छैनन् ।'
सेप्टेम्बर २०२२ मा पोर्शको प्राथमिक सेयर निष्कासन (आईपीओ) पछि यसको मूल्य यसको प्यारेन्ट कम्पनी फक्सवागनभन्दा बढी भएको थियो । तर अहिले पोर्शको सेयर मूल्य ४४ प्रतिशतले घटिसकेको छ र यो वर्षमात्र २१ प्रतिशतले घटेको छ । चीनमा यसको बिक्री लगातार तीन वर्षदेखि घट्दै गएको छ ।
फक्सवागन र पोर्शेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ओलिभर ब्लुमेले शाङ्घाई शोअघि पत्रकार सम्मेलनमा भीडब्ल्यू र अडीका मोडलहरू सार्वजनिक गर्दा पोर्शेको घट्दो बिक्रीलाई महत्त्व नदिएको बताए ।
'हामीलाई संख्याको मतलब छैन,' ब्लुमेले भने, 'हामी मूल्यलाई कायम राख्न चाहन्छौं ।'
ब्लुमेले पोर्शले साओमी वा याङवाङजस्ता ब्रान्डहरूसँग सिधा प्रतिस्पर्धा नगरेको दाबी गरे । 'उनीहरू पनि राम्रो कार हुन्,' उनले भने, 'तर ती कारहरूमा पोर्शेको जस्तो ड्राइभिङ क्षमताको अभाव छ र ती सस्तो मूल्यको क्षेत्रमा पर्छन् ।'

ब्लुमेलेका अनुसार पोर्शेले चीनमा विद्युतीय सवारीको सेग्मेन्ट नै छोड्न सक्ने सम्भावना छ, जहाँ आधाभन्दा बढी नयाँ गाडीहरू ईभी वा हाइब्रिड हुन् । पोर्शेले यहाँ दुईवटा ईभी बेच्छ- टाकन र माकन । तर देशअनुसार मोडल बिक्री सार्वजनिक गर्दैन ।
ब्लुमेलेका भने, 'चीनमा पोर्शका ईभी बिक्री 'तुलनात्मक रूपमा कम' छन् । अर्को दुईदेखि तीन वर्षमा हामी हेर्नेछौं, पोर्श यहाँ विद्युतीय ब्रान्डका रूपमा रहन्छ कि रहँदैन ।'
पोर्शको ऐतिहासिक विशिष्टता- जस्तै ९११ को सिक्स-सिलिन्डर इञ्जिनको गर्जन- चीनमा अन्य बजारजस्तो प्रभावशाली छैन ।
जाटो डाइनामिक्सका चीन निर्देशक बो युले भने, 'पोर्श ब्रान्डको सुनौलो छवि अब चीनको नयाँ पुस्तालाई केही अर्थ राख्दैन ।'
धमाका मच्चाउँदै चिनियाँ अटोमेकर
अब चिनियाँ अटोमोकरहरू उच्च स्तरमा प्रवेश गर्दै बिक्री संख्यामा केन्द्रित छन् ।
साओमीले गत वर्ष १ लाख ३७ हजार एसयू सेभेन बेचेको थियो, जुन पोर्शेको चीनमा गरिएको कुल वार्षिक बिक्री (५७ हजारभन्दा कम) को दोब्बर हो । गत महिना साओमीले २०२५ को लागि आफ्नो सवारी बिक्री लक्ष्य ३ लाख ५० हजार मा बढाएको घोषणा गर्यो ।
सानो लक्जरी ईभी निर्माता निओको बिक्री गत वर्ष ३८.७ प्रतिशतले बढेर २ लाख २१ हजार ९७० पुगेको थियो । सीईओ विलियम लीका अनुसार निओले यस वर्ष आफ्नो उत्पादन दोब्बर पार्ने अपेक्षासहित नौवटा नयाँ वा अपडेटेड ईभी मोडल ल्याउने योजना बनाएको छ ।
चीनको अटो उद्योगको तीव्र वृद्धिले सबै श्रेणीका विदेशी अटोमोकरहरूको बिक्रीमा भारी गिरावट ल्याएको छ ।
स्टार टेक्नोलोजी परामर्श कम्पनीका अटोमोटिभ प्रमुख एन्ड्र्यु फेलोज भन्छन्, 'उनीहरूले त्यो बजार हिस्सेदारी फिर्ता पाउने छैनन् ।'
यद्यपि केही विदेशी ब्रान्डहरूले अझै चीनमा सान्दर्भिक रहने प्रयास गरिरहेका छन् । आर्थिक रूपमा संकटग्रस्त निशानले शोमा चीनमा थप १.४ अर्ब डलर लगानी गर्ने र आगामी वर्षहरूमा १० वटा नयाँ गाडी ल्याउने घोषणा गर्यो ।
निशानका चीन प्रमुख स्टिफेन मा भन्छन्, 'चिनियाँ ब्रान्डहरूले निकै कम समयमा राम्रा मोडलहरू ल्याए । अब, मलाई लाग्छ हामीले फेरि सुरुवात गरेका छौं ।'
केही कम्पनीका उज्याला पक्ष
जनरल मोटर्सले गत डिसेम्बर चीनमा आफ्नो सञ्चालनमा ५ अर्ब डलर घाटा देखाएको थियो, तर अब कम्पनी पुनः उठ्ने प्रयासमा छ । यसको प्रयासको केन्द्रबिन्दु क्याडिलाक ब्रान्ड हो, जसले शाङ्घाईमा चारवटा विद्युतीय मोडलहरू प्रदर्शन गर्यो ।
बुइकको जीएल ८ भने जीएमको लागि चीनमा उज्यालो पक्ष बनेको छ । यो चीनको बहुप्रयोगी सवारीसाधन (एमपीभी) श्रेणीमा अगाडि छ, जसलाई अमेरिकामा मिनिभ्यान भनिन्छ ।
एमपीभीहरू चिनियाँ ग्राहकहरूद्वारा परिवारका लागि र कार्यकारीहरूका लागि लक्जरी सवारी दुवैको रूपमा रुचाइन्छ ।
बुइकले नयाँ जीएल ८ अवधारणाको प्रदर्शन गर्यो । कम्पनीका डिजाइन प्रमुख म्याट नूनले यो केवल ईभी वा हाइब्रिड संस्करणमा आउनेछ र भित्र अत्याधुनिक प्रविधिले भरिएको हुनेछ ।
बुइकले एमपीभी बजारमा बीवाईडीको डेन्जा, ली अटो र एक्सपेङ्गजस्ता प्रतिस्पर्धीहरूलाई रोक्ने प्रयास गर्दैछ, जसले शाङ्घाई शोअघि एक्स ९ एमपीभी सार्वजनिक गर्यो ।
जीलीको जीक्रले पनि हालै चार सिटे ००९ ग्रान्ड एमपीभी ल्याएको छ, जसमा फ्रिज, ४३ इन्चको टिभी र २४ क्यारेट सुनको जीक्र लोगो छ ।
मार्चमा युरोपमा १४ लाखभन्दा बढी कार बिक्री, ईभीले गर्यो कमाल
भन्सार शुल्कको तनाबबीच 'सावधानीपूर्वक' भारत प्रवेश गर्दै टेस्ला
शाङ्घाई अटो शो : बीवाईडीसहित अन्य कम्पनी आक्रामक रूपमा प्रस्तुत हुँदै, दबाबमा टेस्ला
ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा
ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक
घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित
ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने
२५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने
साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा