ललितपुर महानगरको विकास रेगुलर बिजनेस हो, कसैले रोकेर रोकिँदैन : मेयर महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरको विकास प्रक्रियालाई कसैले रोकेर पनि रोक्न नसक्ने स्पष्ट पारेका छन् । २०७२ सालको विनाशकारी भूकम्पको स्मरणमा ललितपुर महानगरपालिकाले आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै मेयर महर्जनले विकासलाई नियमित र निरन्तर हुने कामको रूपमा उल्लेख गरे ।

उनले भने, 'ललितपुर महानगरपालिकाले गर्ने विकास निर्माण कार्य रेगुलर बिजनेस हो, यो रोकिने होइन। आपत्–विपद्का बेला नगरवासीलाई गुणस्तरीय सेवा दिन सक्नुपर्छ ।' उनले विपद् व्यवस्थापनमा ललितपुर महानगरपालिकालाई देशकै अब्बल पालिकाका रूपमा दाबी गर्दै, एकै छानामुनि सम्पूर्ण व्यवस्थापन सम्भव हुने संरचना निर्माण गरिसकेको जानकारी दिए ।

महर्जनका अनुसार विपद् आएपछिको उद्धार, राहत र पुनःस्थापनाका लागि महानगरपालिका पूर्ण रूपमा तयार छ । कुनै पनि आपतकालीन अवस्थामा तिनै अवयवको समन्वयमार्फत नगरवासीको सेवा तत्परताका साथ गरिने उनले बताए ।

प्रमुख महर्जनले भने, '२ सय ९३ वटा पालिकामध्ये विपद् व्यवस्थापन र त्यसपछि सेवा प्रवाहमा ललितपुर महानगरपालिका अग्रपंक्तिमा छ । यो म दाबीका साथ भन्न सक्छु ।'

त्यस्तै, नगरवासीलाई छिटो र सहज सेवा प्रवाह गर्न महानगरपालिकाले विशेष रणनीति अपनाएको जानकारी दिँदै उनले ट्राफिक जामको असर नपरेमा चार मिनेटभित्र सेवा उपलब्ध गराउन सक्ने अवस्था बनाइएको बताए ।

यसअघि पनि ललितपुर महानगरपालिकाले विपद् व्यवस्थापनका लागि आपतकालीन सेवा संयन्त्र, आकस्मिक स्वास्थ्य टोली, उद्धार यन्त्र र तालिमप्राप्त जनशक्ति परिचालन गर्दै आएको छ । महर्जनले यस्तो संयन्त्रलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

Share News