सन नेपाल लाइफले वैशाख ३० गतेदेखि हकप्रद सेयर बिक्री गर्ने, कसले आवेदन दिन पाउँछ ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बैशाख ३० गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको २७ प्रतिशत अर्थात् १ कित्ता बराबर नयाँ ०.२७ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो । 

कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ । 

कम्पनीको हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बैशाख ५ गते बुकक्लोज गरेको थियो । त्यसैले बैशाख ४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै कम्पनीको सेयरमा आवेदन दिन पाउनेछन् । इन्स्योरेन्स कम्पनीको सेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । सेयरधनीहरूले बिक्री प्रबन्धकसँगै सन नेपाल लाइफको केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर एपबाट पनि आवेदन दिन सक्नेछन् । 

केयर रेटिङ्गस नेपालले इन्स्योरेन्सलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता औषतस्तरको रहेको संकेत गर्दछ ।

Share News