ट्रम्पको ट्यारिफको असर जर्मनी, बेलायत र दक्षिण कोरियासम्म देखिन सुरु

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका धेरै देशहरूमाथि रेसिप्रोकल ट्यारिफ (पारस्परिक शुल्क) लगाएका छन् । यद्यपि ९० दिनका लागि यसमा रोक लगाइए पनि यसको प्रभाव अहिलेबाटै देखिन थालिसकेको छ । 

विश्वका धेरै देशहरूमा उत्पादनमा गिरावट आउन थालेको छ । पर्चेजिङ म्यानेजर्सको सर्वेक्षणअनुसार युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनी र बेलायतमा निजी क्षेत्रको उत्पादन घटेको देखिएको छ । 

दक्षिण कोरियामा अप्रिलको पहिलो २० दिनमा निर्यात ५.२ प्रतिशतले घटेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अमेरिका, बेलायत र जर्मनीसहित धेरै देशहरूको आर्थिक वृद्धिको अनुमान घटाएको छ ।

ट्यारिफले व्यापारीहरूको मनोबल घटायो

सीएनएनको एक रिपोर्ट अनुसार एसएन्डपी ग्लोबल र हामबर्ग कमर्शियल बैंकले जर्मनीका कम्पनीहरूमा गरेको सर्वेमा देखिएको छ कि ट्यारिफको चिन्ता र अनिश्चितताले व्यापारीहरूको भरोसा र मागमा गिरावट आएको छ । 

जर्मनीको पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पीएमआई) अप्रिलमा ४९.७ रहेको छ, जुन मार्चमा ५१.३ थियो । पीएमआई निर्माण र सेवा क्षेत्रका गतिविधिहरूको मापन हो । यदि यो ५० भन्दा कम छ भने त्यसको अर्थ उत्पादन घटिरहेको छ भन्ने जनाउँछ ।

निर्यातको भूमिका

अर्थशास्त्रीहरूका अनुसार जर्मनीमा उत्पादनमा आएको गिरावटका पछाडि विभिन्न कारण हुन सक्छन् । ट्यारिफसँग सम्बन्धित अन्तर्राष्ट्रिय अनिश्चितताका साथै यसले देशभित्रको आर्थिक कमजोरीलाई पनि देखाउँछ । यसको अर्थ केवल कर मात्र नभई जर्मनीको आफ्नै अर्थव्यवस्था पनि कमजोर भइरहेको छ । आईएमएफका अनुसार यस वर्ष जर्मनीको आर्थिक वृद्धि दर शून्य रहने अनुमान गरिएको छ । जर्मनीको अर्थव्यवस्थामा निर्यातको महत्त्वपूर्ण भूमिका रहन्छ ।

बेलायतको अवस्था

त्यस्तैगरी, बेलायतमा एसएन्डपी ग्लोबलले भनेको छ कि सर्वेमा सहभागीहरूले अमेरिकी ट्यारिफले नराम्रो असर पारेको बताएका छन् । यसले ग्राहकहरूको विश्वासमा पनि गिरावट ल्याएको छ । 

यस महिना देशको पीएमआई ४८.२ रहेको छ, जुन नोभेम्बर २०२२ पछि सबैभन्दा कम हो । रिसर्च फर्म प्यान्थिन म्याक्रो इकनमिक्सका प्रमुख यूके अर्थशास्त्री रोब वुडले भने, ’यसमा कुनै शंका छैन कि अमेरिकी राष्ट्रपतिको ट्यारिफले बेलायतको वृद्धि दरलाई सुस्त पारेको छ ।’ यद्यपि उनले यो पनि भने कि तत्काल मन्दी देखिएको छैन।

दक्षिण कोरियाको अवस्था

ट्रम्पको आयात ट्यारिफका कारण विश्वव्यापी व्यापारमा गिरावट आएको देखिएको छ । दक्षिण कोरियाको भन्सार सेवाले जनाएको छ कि अप्रिलको पहिलो २० दिनमा निर्यात ५.२ प्रतिशतले घटेको छ । 

दक्षिण कोरियाको अर्थतन्त्रमा पनि निर्यातको ठूलो भूमिका छ । आईएनजीका वरिष्ठ अर्थशास्त्री मीन जू काङले भने, 'यो डेटा व्यापारको दिशा देखाउने महत्त्वपूर्ण सूचक हो ।’ 

यो सर्वेका लागि डेटा अप्रिल ९ देखि २२ बीच सङ्कलन गरिएको थियो, जसले अहिलेको अवस्था स्पष्ट पार्दछ ।

ट्यारिफ युद्धको धुवाँ सेलाउँदै, अमेरिका र चीन वार्तातर्फ उन्मुख

अमेरिकामा बढ्दो जोखिमको डरले स्वीस बैंकमा खाता खोल्नेको संख्या बढ्दै
 

Share News