काठमाडौं । आजको डिजिटल युगमा प्रायः सबैले ल्यापटपको प्रयोग गर्छन् । ल्यापटपसँग जोडिएको एक सामान्य समस्या भनेको समयसँगै यसको गति ढिलो हुँदै जानु हो । विस्तारै ल्यापटप ह्याङ हुन थाल्छ । यस्तो अवस्थामा हामी प्रायः यस्ता उपाय खोजिरहेका हुन्छौं जसले ल्यापटपलाई ढिलो हुन नदिन सकोस् ।
यदि तपाईंको ल्यापटप लगातार ह्याङ भइरहेको छ भने पनि यसमा पुनः नयाँ जस्तो स्पीड ल्याउने उपाय खोज्न सकिन्छ ।
आज हामी तपाईंलाई ५ यस्ता सजिला तरिकाहरू बताउँदैछौं जसको सहयोगले तपाईं आफ्नो स्लो ल्यापटपलाई फेरि नयाँ जस्तै तेज बनाउन सक्नुहुन्छ ।
अनावश्यक स्टार्टअप प्रोग्रामहरू बन्द गर्ने
जब तपाईं ल्यापटप सुरु गर्नुहुन्छ, त्यतिबेला केही प्रोग्रामहरू स्वतः खुल्ने गर्छन् । यी प्रोग्रामहरू ब्याकग्राउण्डमा चलिरहन्छन् र सिस्टमलाई स्लो बनाउँछन् । यदि तपाईंको ल्यापटपमा पनि यस्ता धेरै प्रोग्रामहरू स्वतः चलिरहेका छन् भने यसरी बन्द गर्न सक्नुहुन्छः
स्टेप वान : टास्क म्यानेजर खोल्न Ctrl + Shift + Esc थिच्नुहोस्
स्टेप टुः 'स्टार्टअप' ट्याबमा जानुहोस् र जुन प्रोग्रामहरू आवश्यक छैनन्, तीलाई 'डिसाबल' गर्नुहोस् ।
यसले ल्यापटपको बुट समय कम गर्छ र सिस्टम छिटो सुरु हुन्छ । साथै ती प्रोग्रामहरू ब्याकग्राउण्डमा चल्न पनि बन्द गर्छन् ।
टेम्पोररी फाइल र क्यास क्लियर गर्ने
विन्डोज चलाउँदा समयसँगै धेरै अस्थायी फाइलहरू र क्यास ल्यापटपमा सञ्चित हुँदै जान्छन्, जसले सिस्टमलाई ढिलो बनाउँछ। यी हटाउनका लागिः
स्टेप वानः रन (Win + R) थिच्नुहोस्
स्टेप टु : %temp% टाइप गर्नुहोस्
स्टेप थ्री : खुलेको फोल्डरमा रहेका सबै फाइलहरू डिलिट गर्नुहोस् ।
यसका लागि तपाईं डिस्क क्लिनअप टुलको पनि प्रयोग गर्न सक्नुहुन्छ । यो ल्यापटपको स्पीड बढाउने एक सजिलो उपाय हो ।
ल्यापटपको र्याम अपग्रेड गर्ने
यदि तपाईंको ल्यापटप धेरै ह्याङ गर्छ वा सामान्य काम गर्न पनि समय लगाउँछ भने यसको र्याम कम हुन सक्छ । ल्यापटपको र्याम अपग्रेड गर्दा मल्टिटास्किङ राम्रो हुन्छ र स्पीड पनि बढ्छ । विज्ञहरूले कम्तिमा ८ जीबी र्याम सिफारिस गर्छन् । र्याम अपग्रेड प्राविधिक प्रक्रिया भएकाले विशेषज्ञको सहयोग लिनु उचित हुन्छ ।
एसएसडीको प्रयोग गर्ने
यदि तपाईंको ल्यापटपमा अझै एचडीडी स्टोरेज छ भने यसलाई एसएसडीमा अपग्रेड गर्न सक्नुहुन्छ । एसएसडीमा डेटा छिटो रिड/राइट हुन्छ, जसले बुट टाइम, एप लोडिङ र फाइल ट्रान्सफर स्पीडलाई निकै बढाउँछ । यसले ल्यापटपको समग्र प्रदर्शनलाई धेरै नै सुधार गर्छ ।
भाइरस र मालवेयर स्क्यान गर्ने
धेरै पटक भाइरस वा मालवेयरका कारण ल्यापटप ढिलो हुन्छ । राम्रो एन्टिभाइरसको प्रयोग गरी समय-समयमा स्क्यान गर्दै गर्नुहोस् । यदि तपाईं पैसा खर्च गर्न चाहनुहुन्न भने विन्डोज डिफेन्डर पनि एक राम्रो निःशुल्क विकल्प हो । नियमित स्क्यानिङले हानिकारक फाइल हटाउँछ र ल्यापटप हलुका महसुस हुन्छ ।