काठमाडौं । सरकारले ४ सय ५० किलोग्राम तौल भएको ग्यास सिलिन्डर बजारमा ल्याउने गृहकार्य थालेको छ । हाल उपभोक्ताले १४.२ किलो तौल भएको खाना पकाउने एलपी ग्यास प्रयोग गर्दै आइरहेका छन् । तर, सरकारले अब ४ सय ५० किलो तौलका ग्यास सिलिन्डर बजार ल्याउन तयारी अगाडि बढाएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल गुणस्तर तथा नाप तौल विभागकी महानिर्देशक कुमारीज्योति जोशीको संयोजकत्वमा यससम्बन्धी मापदण्ड बनाउन प्राविधिक समिति बनाएर काम थालेको छ ।
विभागका प्रवक्ता तथा सूचना अधिकारी प्रभात सिंहका अनुसार उक्त समितिले ग्यास ल्याउने प्रक्रियाबारे मापदण्ड बनाउने तयारी गरिरहेको छ ।
उनले भने, ‘गुणस्तर अध्ययनसहित मापदण्ड निर्धारणबारे छलफल भइरहेको छ । यसमा विभिन्न निकायका प्रतिनिधि, विश्वविद्यालयका विज्ञ, उद्योगका विज्ञलगायत उपभोक्ता सबैसँग बसेर छलफल गर्दैछौं । वेबसाइटमार्फत पनि राय सुझावका लागि नोटिस नै निकाल्छौं, त्यसपछि मात्रै निर्णय गर्नेछौं ।’
नेपाल आयल निगमले ठूला सिलिन्डरको आवश्यकता भए/नभएको बारे अध्ययन गर्न गुणस्तर तथा नापतौल विभागलाई जिम्मेवारी दिएको जनाएको छ ।
ठूला सिलिन्डर कार्यान्वयनका विषयमा नापतौल विभागले निर्णय गर्ने निगमका प्रवक्ता मनोज ठाकुर बताउँछन् ।
उनका अनुसार गुणस्तर विभागले स्वीकृत दिएपछि विनियमावली संशोधन गरेर ठूला सिलिन्डर प्रयोगमा ल्याउन निगमलाई उद्योग मन्त्रालयले आयात अनुमति दिएपछि मात्रै ४५० केजी परिमाणको ग्यास आयात प्रक्रिया अघि बढ्नेछ ।
निगमको अहिले भएको विनियमावलीमा १४.२ केजी सिलिन्डरलाई मात्र प्रयोग गर्न अनुमति दिन सकिने व्यवस्था रहेको ठाकुरले जानकारी दिए ।
४ सय ५० केजी सिलिन्डरको विषयमा गुणस्तर विभागले मापदण्ड बनाएपछि उद्योगमन्त्रीको नेतृत्वमा गुणस्तर परिषद् गठन हुने, उक्त परिषद्ले पास गरिसकेपछि ४ सय ५० केजी तौलको सिलिन्डर ल्याउन निगमलाई निर्देशन जारी हुने र त्यसपछि मात्रै सिलिन्डर आयात गर्न मिल्ने उनले बताए ।
प्रवक्ता ठाकुरले भने, ‘यति ठूलो परिमाणको सिलिन्डर आयात गर्न दिने वा नदिने भन्ने कुरा विभागले तोकिदिन्छ अनि हामीले त्यहीअनुसार आयात गर्ने प्रक्रिया अघि बढाउँछौं ।’
हाल कति छन् सिलिन्डर ?
एलपी ग्यास उद्योग संघका अनुसार देशभर ५९ ग्यास उद्योग छन् । नेपाल आयल निगमले २०७८ मा गरेको ग्यास सिलिन्डर प्रमाणीकरणअनुसार देशभर १४.२ किलोका १ करोड ५० लाख सिलिन्डर छन् ।
यसैगरी, नेपालमा प्रत्येक महिना ४५ हजार ८ सय मेट्रिक टन ग्यास खपत भइरहेको छ भने ३२ लाख सिलिन्डर भित्रिने गरेको नेपाल एलपी ग्यास उद्योग संघका महासचिव जीतबहादुर कार्कीले बताए ।
उनका अनुसार हाल देशभर १२ हजार ग्यासका डिपो छन् । एलपी ग्यास भारतका ६ वटा रिफाइनरीबाट आउँछ । उनले ग्यास देशका विभिन्न ६ नाकाबाट भित्र्याउने गरेको जानकारी दिए ।
कुल एलपी ग्यास खपतको झन्डै ४० प्रतिशत काठमाडौं उपत्यका र आसपासका ठाउँहरूमा हुने गरेको संघको भनाइ छ ।
आफ्नो देशको विस्फोटक ऐन कानुन र नियमन निकाय नहुँदा भारतको नियमअनुसार उतैबाट इजाजत लिई उद्योगहरू सञ्चालनमा छन् ।
पर्साको वीरगञ्ज नाका, मेचीको काँकडभिट्टा नाका, रुपन्देहीको भैरहवा, बाँकेको नेपालगञ्ज, कैलालीको गौरीफाण्टा नाकाबाट ग्यास भित्रिने गर्छ ।
ग्यास उद्योगी भन्छन्- यो उपयुक्त छैन
संघका महासचिव जीतबहादुर कार्की आयात गर्ने ऐन मापदण्ड लागू नभएसम्म होटल, रेस्टुरेन्ट तथा विभिन्न प्रयोजनमा ठूला सिलिन्डरको प्रयोग गर्न अनुमति दियो भने ठूलो समस्या निम्तिने बताउँछन् ।
उनका अनुसार घरायसी तथा होटल रेस्टुरेन्टका लागि यो परिमाणको ४५० केजी ग्यास सिलिन्डर उपयुक्त छैन ।
महासचिव कार्कीले भने,‘यसका लागि गहन अध्ययन गरिनुपर्छ । यो हाम्रो जस्तो अज्ञानता भएको देशमा आवश्यक छैन । देशमा आवश्यकभन्दा बढी ग्यास सिलिण्डर छन् । यो ३२ गुणाले बढी हुन आउँछ । यसलाई सजिलै प्रयोगमा पनि ल्याउन सकिँदैन ।’
उनले अहिले भएकै सिलिन्डरलाई थप व्यवस्थित गर्न नसकिएको अवस्थामा ठूलो आकारका सिलिन्डर ल्याइनु मूर्खता भएको दाबीसमेत गरे ।
के भन्छ उपभोक्ता हित संरक्षण मञ्च ?
उपभोक्ताहित संरक्षण मञ्जका महासचिव विष्णु तिमल्सिना यससम्बन्धी सबैभन्दा पहिले कार्यविधि/निर्देशिका र मापदण्ड बनाउनुपर्ने बताउँछन् ।
ग्यास सिलिन्डरका विषयमा गहिरो अनुसन्धान गरिनुपर्ने उनको भनाइ छ । उनका अनुसार ४ सय ५० केजीको सिलिन्डरले देशमा गम्भीर जोखिम निम्तिनेछ ।
उनले भने, ‘१४.२ केजीको सिलिन्डरले त कत्तिको नोक्सान गर्छ भने ४५० केजीको सिलिन्डरले कत्तिको नोक्सान गर्न सक्ला ? यो सोच्नुपर्ने कुरा हो । यो कुनै चानचुने कुरा होइन । हाम्रो जस्तो देशमा यति ठूलो सिलिन्डरका लागि पूर्वाधारको सुविधा, त्यो राख्ने ठाउँको मापदण्ड हुनु जरुरी छ ।’
के छ नियमावलीमा ?
सरकारले १४.२ किलो तौलयुक्त सिलिन्डरका लागि मात्र कानुनी व्यवस्था बनाएको छ । जुन २०६५ मा आयल निगमले संशोधनसहित जारी गरेको ‘एलपीजी ग्यास विनियमावली’ अनुसार १४.२ किलोको सिलिन्डर मात्र उत्पादन गरी बिक्री गर्न पाइने व्यवस्था छ ।
विनियमावलीको दफा ३ को उपदफा ३ को (च) ले पहाडी र उच्च हिमाली क्षेत्रमा ५ किलो र व्यावसायीक प्रयोजनका लागि १९ किलो क्षमताको सिलिन्डरलाई सैद्धान्तिक अनुमति दिन सक्ने व्यवस्था गरे पनि हाललाई १४.२ किलोमा मात्रै बजारीकरण गर्न पाइने व्यवस्था छ ।
त्यस्तै, गुणस्तर तथा नापतौल विभागले १४.२ किलो तौलको ग्यास सिलिन्डरको मात्र गुणस्तर र नियमन गर्दै आएको छ भने यो तौलभन्दा बढीका सिलिन्डर भने विभागले नियमन नगर्ने जनाइएको छ ।
सार्वजनिक लेखा समितिको रोक
गत वर्षको असोजमा ४५० केजी तौल भएको ग्यास नेपाल भित्र्याउने गृहकार्य सुरु गरेकोमा प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले रोकिदिएको थियो ।
सार्वजनिक लेखा समितिका सचिवालय सदस्य एकराम गिरीले यसअघि पनि ४५० केजीको ग्यास ल्याउने गृहकार्य भएको तर यसलाई सार्वजनिक लेखा समितिले रोकेको बताए ।
उनले भने, ‘गैरकानुनी रूपमा, मापदण्ड नबनाइकन ४५० केजीको ग्यास सिलिन्डर ल्याउने गृहकार्य यसअघि पनि भएको थियो । त्यो बेला यो नियम विपरीत भयो भनेर लेखा समितिमा उजुरी परेका थियो अनि सोही आधारमा समितिले रोकेको थियो ।’
उनले हाल मापदण्ड बनाएर ल्याउने गृहकार्य चलिरहेको बताउँदै यो सकारात्मक भएको जानकारी दिए ।
ग्यास उद्योगहरूले गैरकानुनी रूपमा होटल लगायत औद्योगिक प्रयोजनका लागि ४५० केजीका सिलिण्डर बिक्री वितरण गरेको भन्दै लेखा समितिले त्यसलाई रोक्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको थियो ।
भारतमा मात्र ४५० किलोको एलपीजी ग्यास प्रयोग
भारतमा ४५० किलोग्राम क्षमताका एलपीजी (ग्यास) सिलिन्डरहरू हाल पनि प्रचलनमा छन्, विशेषगरी औद्योगिक र व्यावसायिक प्रयोजनका लागि ।
भारतीय आयल कर्पोरेसन (आईओसीएल) अन्तर्गतको इन्डेन ब्रान्डले ४५० किलोग्राम क्षमताको “जम्बो सिलिन्डर“ बजारमा ल्याएको छ । यी सिलिन्डरहरू मुख्य रूपमा होटल, रेस्टुरेन्ट र क्यान्टिनहरूमा प्रयोग गरिन्छ । २०१७ मा कोयम्बटुरमा पहिलोपटक यस्तो सिलिन्डर सार्वजनिक गरिएको थियो ।
यसैगरी सुपरग्यास कम्पनीले ४५० किलोको म्याक्सिमा सिलिन्डर पनि भारतमा प्रयोग हुँदै आएको छ । यो युरोपेली सुरक्षा मापदण्डहरू अनुसार डिजाइन गरिएको छ ।
त्यस्तै, टोटलएनर्जीको मिनी बल्क सिलिन्डर कम्पनीले पनि ४५० किलोग्राम क्षमताको एलपीजी सिलिन्डर प्रदान गर्दै आइरहेको छ । जुन विशेष गरी धातु उद्योग, फलाम र स्टील उद्योगहरूमा उच्च प्रवाह दर आवश्यक पर्ने स्थानहरूमा प्रयोग गरिन्छ ।
अरू देशहरूमा भने ४५० केजीको एलपीजी ग्यास प्रयोगमा आएको देखिँदैन । ४५ केजीसम्मको ग्यास प्रयोगमा आएको पाइन्छ ।