सेवालाई चुस्त बनाएपछि यातायात कार्यालय बाराको राजस्व सङ्कलन साढे ७ करोड रुपैयाँ

काठमाडौं । बारास्थित यातायात व्यवस्था कार्यालय कलैयाँले चालु आर्थिक वर्षको वैशाख  पहिलो सातासम्ममा ७ करोड ३६ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले सङ्कलन गर्ने राजस्व पछिल्लो समय उत्साहजनक ढङ्गले वृद्धि भइरहेको र यस अवधिसम्म ७ करोड ३६ लाख ५७ हजार ६७५ रुपैयाँ राजस्व सङ्कलन भएको जानकारी दिए । 

‘कार्यालयले साउनदेखि माघको पहिलो सातासम्म ४ करोड ३० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । त्यसयता वैशाखको पहिलो सातासम्म ३ करोड ६ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । पछिल्ला महिनामा राजस्व सङ्कलनको दर क्रमशः वृद्धि हुँदै गइरहेको छ,’ उनले भने । 

कार्यालयका अनुसार तीन महिनायता प्रतिमहिना औसतमा १ करोड २ लाख रुपैयाँ राजस्व सङ्कलन हुँदै आएको छ । कार्यालयले आन्तरिक सुशासन र सेवा प्रवाहलाई चुस्त बनाएसँगै राजस्व सङ्कलन बढेको जनाएको छ । यस रकममध्ये सबैभन्दा धेरै राजस्व चालक अनुमतिपत्र, सवारीदर्ता किताबसम्बन्धी दस्तुरबाट ३ करोड ५४ लाख ४० हजार ५६ रुपैयाँ र सवारीसाधन करबाट ३ करोड ४० लाख ३९ हजार ९४३ रुपैयाँ राजस्व सङ्कलन भएको छ । 

यातायात क्षेत्रको आम्दानी बापत ४० लाख ८४ हजार ५४० रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । अन्य प्रशासनिक सेवा शुल्क बापत २५ हजार ५०० रुपैयाँ र बेरुजु बापत ६७ हजार ३३६ रुपैयाँ सङ्कलन भएको छ । कार्यालयले चालु आवमा करिब १० करोड रुपैयाँ राजस्व सङ्कलन हुने अनुमान गरेको छ ।

Share News