काठमाडौं । शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि रघुजी पन्तले मन्त्रालयको जिम्मेवारी पाएका छन् । विद्याले राजीनामा दिएको तीन दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले रघुजी पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् । उनको भोलि शपथ हुने जनाइएको छ ।
नेकपा एमालेका सदस्य पन्त प्रखर र स्पष्ट वक्ताको रूपमा चिनिन्छन् । उनी संसदमा बेलाबेला दरिलो प्रश्न उठाइराख्ने सांसदका रूपमा चिनिन्छन् ।
ललितपुर घर भएका पन्त हाल खस आर्य कोटाबाट समानुपातिक प्रतिनिधिको रूपमा सांसद बनेका हुन् । उनी यस अघि २०६१ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा श्रममन्त्री बनेका थिए ।
राजनीतिक यात्रा सुरु गर्न अगाडि उनी पत्रकार थिए । विभिन्न साप्ताहिक पत्रिकामा उनी आबद्ध भएर सक्रिय पत्रकारिता गर्थे ।
पन्तले २०३२ सालमा बुधबार साप्ताहिकबाट पत्रकारिताको यात्रा तय गरेका थिए । त्यसपछि उनी युगधारा, नवयुग मासिक लगायतका मिडियामा आबद्ध भएर काम गरेका थिए ।
उनी पत्रकारको हकहितका लागि काम गर्ने संस्था पत्रकार महासंघमा समेत आबद्ध थिए । पत्रकार महासंघको महासचिवको भूमिका समेत निभाएका थिए । 
२०५१ र २०५६ सालको निर्वाचनमा उनी ललितपुरको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको सदस्यको रूपमा निर्वाचित भएका थिए ।
२०६३ को पुनः स्थापित अन्तरिम संसदमा पनि पन्त सांसद थिए । तर, २०६४ र २०७० सालको संविधानसभा चुनावमा उनी पराजित भए ।
२०७४ सालको निर्वाचनमा वाम गठबन्धन भएपछि पन्तले ललितपुर ३ माओवादी नेतृ पम्फा भुसाललाई छोडिदिए ।
२०७९ सालको निर्वाचनमा उनी एमाले समानुपातिक सांसद बने ।
पन्त कुनै बेला एमाले अध्यक्ष ओलीका निकै आलोचकका रूपमा चिनिन्थे । २०८० सालमा भएको एमालेको महाधिवेशनपछि भने ओलीको विशेष भूमिकामा परे ।
शिक्षामन्त्री बनेसँगै अब उनका अगाडि चुनौतीका चाङ थुप्रिएका छन् । अहिले देशभरका शिक्षक सडकमा छन् । सामुदायिक विद्यालय बन्द भएर शिक्षकहरू सडकमा आइरहेको बेला पन्तलाई भने कार्यकाल चुनौती नै हुने देखिन्छ ।
२०७५ सालदेखि छलफलमा आएको विद्यालय शिक्षा ऐन पारित नहुँदासम्म घर नफर्कने अडानमा रहेका बेला सरकारले कुनै निर्णय दिन सकेको छैन ।
अहिले शिक्षामन्त्रीमा नियुक्त भएका पन्तका लागि सबैभन्दा ठूलो चुनौती विद्यालय शिक्षा ऐन पारित गरेर शिक्षकलाई घर फर्काउनु देखिन्छ । त्यसबाहेक अन्य शिक्षा क्षेत्रका चुनौती पनि उत्तिकै देखिएका छन् ।