काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङविरुद्ध प्रहरीले उजुरी दर्ता गरेको छ । नगरकोट–बानडाँडा सडक र ड्रेन निर्माणको विवाद मिलाउन निर्माणस्थल पुगेका नगरप्रमुख साम्पाङ र स्थानीय सन्तोष लिम्बूबीच विवाद हुँदा स्थिति झगडासम्म पुगेको हो ।
प्रदेश सरकारले सडक स्तरोन्नतिको लागि विनियोजन गरेको २० लाख रुपैयाँ केही क्षेत्रमा मात्र खर्च हुने भएपछि स्थानीय असन्तुष्ट बनेका थिए । त्यसैको समाधानका लागि नगरप्रमुख सम्पाङ मङ्गलबार निर्माणस्थल पुगेका थिए ।
स्थानीय सन्तोष लिम्बूले नगरप्रमुख साम्पाङ, वडा अध्यक्ष लोकेन्द्र फागो र साम्पाङ समर्थक जोन लिम्बू (चङ्खे) विरुद्ध धरान प्रहरीमा उजुरी दिएका छन् । उजुरीमा नगरप्रमुखको अगाडि नै समर्थक जोन लिम्बूले आफूमाथि हातपात प्रयास गरेको उल्लेख छ ।
नगरकोट टोल विकास संस्थाका अध्यक्षसमेत रहेका लिम्बूले मेयर साम्पाङले हिंसात्मक घटनामा मौनता देखाएको आरोप लगाउँदै कानुनी कारबाहीको माग गरेका छन् ।