काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख ७ गतेसम्ममा ७ अर्ब २१ करोड ६२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
महानगरले सम्पत्ति कर, घरबहाल कर, व्यवसाय रजिष्ट्रेसन करलगायत शीर्षकमा अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि गर्न सफल भएको छ ।
राजस्व विभाग प्रमुख दीपक अधिकारीका अनुसार घरबहाल करबाट मात्रै २५ करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ । अघिल्लो वर्षको १ अर्ब ८६ करोड रुपैयाँको तुलनामा यो वर्ष सो शीर्षकमा २ अर्ब ११ करोड रुपैयाँभन्दा बढी संकलन गरिएको छ।
सम्पत्ति करमा पनि १५ करोड रुपैयाँको वृद्धि भएको छ । अघिल्लो वर्ष ७९ करोड संकलन भएकोमा यस वर्ष ९४ करोड ७५ लाख रुपैयाँ संकलन भएको छ ।
त्यस्तै, न्यायिक दस्तुर, शिफारिस दस्तुर, प्रशासनिक जरिवाना, पर्यटन शुल्क लगायतका शीर्षकमा समेत सकारात्मक वृद्धि देखिएको छ । हनुमानढोका दरबार संरक्षण कार्यक्रम अन्तर्गतको आम्दानी १५ करोड ७८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब १ करोड ७० लाखले बढी हो ।
यसका साथै केही शीर्षकमा भने राजस्व संकलनमा गिरावट आएको छ । नक्सा पास दस्तुरबाट संकलन हुने आम्दानी अघिल्लो वर्षको तुलनामा करिब २० करोड रुपैयाँले घटेको अधिकारीले जानकारी दिए ।
महानगरले करदाताहरूलाई पत्राचार गरेर, राजस्व टोली परिचालन गरेर, र आन्तरिक राजस्व कार्यालयसँग समन्वय गरेर राजस्व वृद्धि गर्न सकेको जनाएको छ।