विदेशबाट फर्केका श्रमिकको स्वास्थ्य परीक्षणको लागि शहीद धर्मभक्त केन्द्रले बेग्लै वार्ड स्थापना गर्ने

काठमाडौं ।  दुई दिन अघि संयुक्त अरब इमिरेट्सको दुबईमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको नेपाली श्रमिकहरुको उपचार तथा मानसिक स्वास्थ्य परामर्शका लागि निर्णय भएको छ ।

मन्त्री पौडेलले विदेशमा रहेका श्रमिकहरूको स्वास्थ्य समस्याका समाधानका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई जिम्मेवारी दिएको जानकारी दिएका छन् ।

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार, वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूका लागि शहीद धर्मभक्त केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षणका लागि विशेष ओपीडी वार्ड स्थापना गरिने निर्णय गरिएको छ । यस निर्णयले विदेशमा रहेका श्रमिकहरूको स्वास्थ्य परीक्षणको प्रक्रिया सजिलो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

स्वास्थ्य परीक्षणका लागि शुल्कको समस्याबाट मुक्त राख्न केन्द्रले अब लागत मूल्यमा सेवा दिने पनि स्पष्ट पारेको छ । यसैगरी, विदेशमा रहेका श्रमिकहरूको स्वास्थ्य समस्याका बारेमा परामर्श दिनका लागि ड्युटीमा रहेका मेडिकल अधिकृतलाई खटाइने भएको छ ।

मन्त्री पौडेलका अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य सम्बन्धी समस्यामा सुधार ल्याउनका लागि सरकारी स्तरबाट यस्तो निर्णय गरिएको हो ।

Share News