कक्षा १२ को परीक्षा तोकिएकै मितिमा, शिक्षक नआए निजामती कर्मचारीबाट सञ्चालन गरिने

काठमाडौं । कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षाको मिति नसर्ने निर्णय गरेको हो । 

बोर्डको यो निर्णयसँगै अब कसरी परीक्षा सञ्चालन हुन्छ भन्ने जिज्ञासा सिर्जन भएको छ । तीन सातादेखि काठमाडौंमा आन्दोलन गरिरहेका शिक्षकहरूले परीक्षामा सहभागी नहुने बताइरहेको बेला बोर्डले परीक्षा गराएरै छोड्ने निर्णय गरेको हो । 

नियम अनुसार परीक्षा केन्द्र तोकिएको विद्यालयका प्रधानाध्यापक केन्द्राध्यक्ष रहने उसैले निरीक्षक तोक्नुपर्ने हुन्छ । यस्तो अवस्थामा शिक्षक सहभागी नभएपनि अन्य कर्मचारी वा निजामती कर्मचारीको प्रयोग गरेर भएपनि परीक्षा सञ्चालन गर्ने नेपाल राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले सबै शिक्षक आन्दोलनमा नआएकाले सकेसम्म शिक्षकलाई नै परिचालन गर्ने, भएन भने अन्य कर्मचारी परिचालन गरेर भएपनि परीक्षा गर्ने निर्णय भएको बताए । 'हामीले सकेसम्म शिक्षक नै केन्द्राध्यक्ष र निरीक्षक रहउन भन्ने हो, यसो भएन भने जिल्लाका सीडीओलाई परिचालन गरेर भएपनि परीक्षा गर्नुपर्ने बाध्यता भएको छ,’ उनले भने ।  

समयमै परीक्षा सञ्चालन नगर्दा विद्यार्थीको भविष्य नै जोखिममा पर्ने भन्दै उनले यो कदम चाल्नुपरेको बताएका छन् । वैशाख ११ गतेदेखि सुरु हुने परीक्षामा शिक्षकको विकल्पमा निजामती कर्मचारी परिचालन गर्ने बोर्ड दाबी गरेको छ । 

यता आन्दोलनरत शिक्षकहरूले भने परीक्षामा सहभागिता नजनाउने बताएका छन् । उनीहरूले आफ्नो हातमा विद्यालय शिक्षा ऐन नपर्दासम्म सडकबाट घर नफर्कने अडान कसेका छन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आफूहरूको माग शिक्षामन्त्री, परीक्षा बोर्डप्रति लक्षित नभएको बताउँदै शिक्षा ऐन पारित गरेर शिक्षकको हातमा पर्नुपर्ने बताए । 

उनी भन्छन्, ‘हामी कसैको आश्वासन, प्रलोभनमा पर्दैनौँ र कुनै सम्झौता पनि गर्दैनौं, यसबाट जे जस्तो असर पर्छ सबै राज्यले बेहोर्नुपर्छ ।’

'हामीले शिक्षकहरू आग्रह गरेका छौँ, आशा छ उहाँहरू सहभागी हुनुहुन्छ यदि त्यसो भएन भने, जिल्लामा हाम्रा कार्यालयहरू छन्, परीक्षा समन्वय समिति छ, र स्थानीय पालिका छन् उहाँहरूसँग समन्वय गरेर परीक्षा सञ्चालन गर्छौ,' परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ।

यो वर्ष कक्षा १२ मा परिक्षामा साढे ५ लाख विद्यार्थी सहभागी हुँदैछन् ।
 

Share News