शिक्षकहरूको आन्दोलन कायमै, शिक्षा ऐन नआएसम्म विद्यालय नफर्किने अडान

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले मंगलबार पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । काठमाडौंको माइतीघर–बानेश्वर सडकखण्डमा उनीहरूले प्रदर्शन गर्दै माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

गत २० दिनदेखि आन्दोलनरत शिक्षकहरूले शिक्षा विधेयक तुरुन्तै जारी गर्नुपर्ने माग गर्दै काठमाडौं केन्द्रित विरोध कार्यक्रमहरू गरिरहेका छन् । सरकारले शिक्षा विधेयक आगामी बजेट अधिवेशनबाट जारी गर्ने प्रतिबद्धता जनाए पनि उनीहरू विश्वस्त देखिँदैनन् ।

शिक्षकहरूले पटक–पटक सरकारले गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै यस पटक शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने अडान लिएका छन् । शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि शिक्षकहरूको माग सम्बोधन अझै अनिश्चित देखिएको छ ।

सरकारले वैशाख १२ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने तयारी गरिरहेको छ । सो अधिवेशनमा शिक्षा विधेयक प्रस्तुत हुने सरकारले स्पष्ट पारेको छ । तर, शिक्षकहरूले विधेयक जारी भएपश्चात् मात्र आन्दोलन अन्त्य गर्ने बताएका छन् ।

Share News