काठमाडौं । शिक्षाको द्रुत परिवर्तन भइरहेको परिवेशमा क्षेत्रीय सहकार्य र नवप्रवर्तनलाई अघि बढाउने उद्देश्यसहित क्याम्ब्रिज युनिभर्सिटी प्रेस एण्ड एसेस्मेन्ट (क्याम्ब्रिज) अन्तर्गतको इन्टरनेशनल एजुकेशन समूहले दोस्रो वार्षिक दक्षिण एसियाली क्याम्ब्रिज विद्यालय सम्मेलन सम्पन्न गरेको छ ।
भारत, नेपाल, श्रीलङ्का, भुटान, बङ्गलादेश र मालदिभ्सका ४०० भन्दा बढी शिक्षक, विद्यालय नेताहरू र शैक्षिक विशेषज्ञहरूको सहभागिता रहेको सम्मेलनले शिक्षामा उत्कृष्टता र भविष्य उन्मुख परिवर्तनको यात्रामा क्याम्ब्रिजको अग्रसरतालाई पुनः पुष्टि गरेको छ ।
सन् २०३० सम्म विश्वभर ४४ मिलियन नयाँ शिक्षकको आवश्यकता पर्ने प्रक्षेपणसँगै, क्याम्ब्रिजले दक्ष शिक्षकमूलक कार्यक्रम, सेवा–पूर्व तालिम, छोटो अवधिका अनलाइन कोर्सहरू र व्यावसायिक सीप अभिवृद्धिका तालिमहरूमार्फत दक्षिण एसियाली शिक्षालाई सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
सम्मेलनको उद्घाटनमा क्याम्ब्रिज इन्टरनेशनल एजुकेशनका प्रबन्ध निर्देशक रोड स्मिथले क्षेत्रीय विद्यालयहरूसँगको सहकार्यलाई प्रशंसा गर्दै भने, 'हामी शिक्षार्थीहरूलाई बदलिँदो संसारको लागि तयार पार्न प्रतिबद्ध छौँ । डिजिटल परीक्षा प्रणाली, एआई प्रविधिको समावेश र व्यावसायिक विकास कार्यक्रमहरूमार्फत हामी शिक्षण प्रक्रियामा गुणात्मक सुधार ल्याइरहेका छौँ ।'
त्यस्तै, इन्टरनेशनल एजुकेशन, साउथ एसियाका वरिष्ठ उपाध्यक्ष विनय शर्माले अन्तर्राष्ट्रिय शिक्षालाई सबैका लागि पहुँचयोग्य बनाउने प्रतिबद्धता दोहोर्याउँदै सहकार्यकै माध्यमबाट शिक्षामा परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरे ।
सम्मेलनमा प्रस्तुत गरिएका प्रमुख शैक्षिक पहलहरूमध्ये ‘क्लाइमेट क्वेस्ट’ (जलवायु प्रतिरोधात्मकता निर्माण), ‘क्याम्ब्रिज कनेक्ट’ (राष्ट्रिय परीक्षा आवश्यकतासँग सुसंगतता), ‘मार्च परीक्षा शृंखला’ (स्थानीय प्रवेश आवश्यकताअनुरूप), ‘इंटिग्रेटेड लर्निङ एण्ड एसेस्मेन्ट’ (अङ्ग्रेजी भाषा सीप विकास), र ‘यंग पायनियर्स’ (उद्यमशील सोच प्रवर्धन) लाई विशेष प्राथमिकतामा राखिएको थियो ।
सम्मेलनका विभिन्न सत्रहरूमा शिक्षणमा एआईको प्रयोग, डिजिटल मूल्याङ्कन प्रणाली, माइन्डफुलनेस, बदलिँदो करियर र कलेज तयारीका विषयमा गहिरो छलफल भयो । साथै, उत्कृष्ट शैक्षिक अभ्यास देखाएका विद्यालयहरूलाई ‘क्याम्ब्रिज स्कुल रेकग्निसन अवार्ड’ प्रदान गरेर सम्मानित गरिएको थियो ।