५ करोडमा पुनःनिर्माण हुँदै नव देग मन्दिर, पुरानै शैलीमा बनाइने

काठमाडौं । काठमाडौं महानगरपालिका–२५ मा अवस्थित ऐतिहासिक नव देग मन्दिर, जसलाई भवानी शंकर मन्दिरको नामले पनि चिनिन्छ, पुरानै कलात्मक शैलीमा पुनःनिर्माण कार्य तीव्र रूपमा अगाडि बढाइएको छ ।

साढे ५ करोड रुपैयाँको लागतमा पुनःनिर्माण भइरहेको यो मन्दिर सन् १६७५ मा प्रताप मल्लका महामन्त्री देवीदास चिकुथिले निर्माण गराएका थिए । तत्कालीन मल्लकालीन वास्तुकलाको उत्कृष्ट नमुना मानिने यो मन्दिरको पुनःनिर्माण कार्य २०८१ भाद्र २ गतेबाट सुरु गरिएको हो, जसलाई २०८२ फागुन ४ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पुनःनिर्माणको क्रममा भेटिएको ऐतिहासिक शिलालेखमा ४९ पङ्क्ति छन्, जसमा २५ पङ्क्तिमा महादेवको स्तुति र बाँकीमा मन्दिर सञ्चालन, नित्य पूजा, आरती लगायतका विधिहरू उल्लेख गरिएका छन् ।

ब्राह्मण पुजारीमार्फत दैनिक पूजाआजा गरिने यस मन्दिरमा हरेक महिनाको पहिलो दिन, पूर्णिमा र महाशिवरात्रिमा विशेष पूजाको परम्परा छ ।

हाल बनाइँदै गरेको नयाँ संरचनामा मन्दिरको तल्लो भागमा पाँच तले ईँटको भर्याङ र त्यस माथि तीनतले मन्दिर निर्माण गरिँदैछ । यद्यपि सन् १९७५ को अभिलेखमा यो मन्दिर एकतले देखिए पनि अन्य अभिलेख र प्रमाणका आधारमा हाल तीनतले स्वरूपमा पुनर्निर्माण भइरहेको हो ।

२०३९ सालको एक अभिलेख अनुसार यो स्थानमा पहिले एक भव्य, कलात्मक मन्दिर रहेको पुष्टि हुन्छ । अझै पनि यहाँ पाँचवटा भुइँतला संरचना बाँकी छन्, जसले पुरातात्त्विक महत्व झल्काउँछन् ।

गर्भगृहमा शिवलिङ्गका साथै विष्णु, गणेश, सूर्य र देवीका मूर्तिहरू रहेका छन्, जसले पाँचायन देवताको प्रतिनिधित्व गर्छन् । यो मन्दिर केवल धार्मिक स्थल मात्र नभई काठमाडौंको सांस्कृतिक इतिहासको जीउँदो स्मृति पनि हो ।

पुनःनिर्माणपछि नव देग मन्दिर राजधानीको धार्मिक, सांस्कृतिक र ऐतिहासिक चेतनामा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।

Share News