सबै वडामा आफ्नै भवन बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका

काठमाडौं । नेपालगञ्ज उप-महानगरपालिकाले सबै वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न भवन बनाउने योजना कार्यान्वयन गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ को शुक्रबार वडा कार्यालय भवन शिलान्यास गर्दै उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले आफ्नै भवन नभएका सबै वडाको व्यवस्थित कार्यालय भवन निर्माण सुरु गरेको बताए ।

‘नेपालगञ्ज उपमहानगरपालिकाका केही वडा कार्यालय अझै पनि भाडाका घरबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको छ । वडा कार्यालयले जग्गाको व्यवस्था सुनिश्चित गर्नासाथ भवन निर्माणमा उप-महानगरपालिकाले बजेट व्यवस्थापन गर्नेछ,’ उनले भने । 

नगर प्रमुख विष्टले आनन्द नगर टोलमा नेपालगञ्ज-९ को वडा कार्यालय भवन शिलान्यास गरेका हुन् । उनले निर्धारित समयमै कार्य सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्दै आवश्यक बजेट व्यवस्थापनका लागि आफूले पहल गर्ने बताए । 

नेपालगञ्ज उपमहानगरपालिका–९ का वडाध्यक्ष गोविन्दप्रसाद रेग्मीले वडावासीलाई आफ्नै सुविधा सम्पन्न भवनबाट अझ सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ वडा कार्यालयको भवन निर्माण सुरु गरिएको बताए ।

चालु आर्थिक वर्षमा वडाको २५ लाख रुपैयाँ बजेट र बाँकी नेपालगन्ज उप-महानगरपालिकाले व्यवस्थापन गर्ने गरी निर्माणकार्य सुरु गरिएको जानकारी दिए । भवन निर्माणको लागि ४० लाख रुपैयाँमा टेण्डर आह्वान गरेकोमा रु ३३ लाखमा ठेक्का स्वीकृत भएको उनको भनाइ छ । 

वडासचिव तेज बहादुर सिंहले वडा कार्यालय भवन निर्धारित समयमै निर्माण सम्पन्न गर्ने गरी योजनाका साथ काम सुरु गरिएको बताए । नेपालगञ्ज उपमहानगरपालिका-४, ५, ६, ७, ८,९ र ११ वडा कार्यालय अहिले पनि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका छन् ।

Share News