धरानका मेयर साम्पाङविरुद्ध बिना अनुमति रुख फडानीको आरोपमा छानबिन सुरु

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङविरुद्ध सामुदायिक वनमा अनुमति बिना रुख फडानी गरेको आरोपमा छानबिन सुरु गरिएको छ ।

धरान-२० स्थित बिष्णुपादुका सामुदायिक वन क्षेत्रमा ‘फायर लेन’ बनाउने भन्दै मेयर साम्पाङले चैत १९ गते मेसिन प्रयोग गरेर रुख फडानी गरेको उजुरी परेपछि डिभिजन वन कार्यालय, सुनसरीले छानबिन प्रक्रिया थालेको हो ।

डिभिजन वन कार्यालयका प्रमुख खुद्रोस मियाँका अनुसार सो विषयमा उजुरी परेपछि तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिको संयोजकमा बिष्णुपादुका सब-डिभिजन वन अधिकृत महेश कुमार शाह रहेका छन् । यस्तै, पञ्चकन्या सब-डिभिजन वन अधिकृत लेखनाथ भण्डारी र सहायक वन अधिकृत फुलकुमारी भोटे सदस्य छन् ।

समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाएपछि वन ऐनअनुसार आवश्यक कारबाही गरिने कार्यालयले जनाएको छ । प्रमुख मियाँले वन क्षेत्रभित्र अनुमति बिना रुख काट्न कानुनी रूपमा निषेध गरिएको स्पष्ट पारे ।

Share News